कलाकार भिसामा युरोप पठाउने भन्दै ठग्ने कलाकार 'ईकु' पक्राउ

कलाकार सुलेमान शंकर (ईकु) पक्राउ परेका छन् । सुलेमान शंकर इकु भनेर चिनिने तर वास्तविक नाम सुर्यमान शंकर रहेका व्यक्ति ठगीको आरोपमा प्रहरी फन्दामा परेका हुन् ।

कलाकार भिसामा युरोप पठाउने भन्दै ठग्ने कलाकार 'ईकु' पक्राउ
काठमाडौं । कलाकार सुलेमान शंकर (ईकु) पक्राउ परेका छन् । सुलेमान शंकर इकु भनेर चिनिने तर वास्तविक नाम सुर्यमान शंकर रहेका व्यक्ति ठगीको आरोपमा प्रहरी फन्दामा परेका हुन् । उनले कलाकार भिसामा युरोप पठाउँछु भनेर प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ लिने गरेको पाइएको छ । ईकुले विभिन्न देशमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी ठगी गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । विशेषगरी भौगोलिक रुपमा विकट क्षेत्रका मानिसहरुलाई युरोपेली मुलुकहरुमा राम्रो काम पाइने र आम्दानी समेत सोही अनुरुप आकर्षक हुने प्रलोभन देखाई ठगेको प्रहरीले जनाएको छ । ईकुले आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्मसको नाममा रहेको ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ । रकम जम्मा गर्ने व्यक्तिहरुले कलाकार भिसामा विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पिडितहरुले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ तयारी भएपछी खबर गर्छु भनी पडितहरुलाई लामो समयसम्म झुलाउने गरेको पाइएको छ । इकुलाई भदौ २५ गते काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३, हात्तिगौंडाबाट पक्राउ गरी जिल्ला अदालत काठमडौंबाट दिन अनुसन्धानका लागि ५ दिनको म्याद थपेको सीआईबीले जनाएको छ ।