सहकारी ठगी : धनराजको नाम काटेर अन्य पाँच जनाको नाम सीआईबीमा सिफारिस

कार्यालयका रजिस्ट्रार राजन पोखरेलले धनराजको नाम हटाएर अन्यविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाउन सिआइबीलाई सिफारिस गरिएको स्वीकार गरे ।

सहकारी ठगी : धनराजको नाम काटेर अन्य पाँच जनाको नाम सीआईबीमा सिफारिस
काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङको नाममा समेत उजुरी परेको भेटिएको छ । धनराजसहित ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाको नाम किटान गरेर सहकारीले नै गत १४ साउनमा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएको खुलेको हो । तर, कार्यालयले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई सिफारिस गर्दा धनराजको नाम हटाएर अन्य पाँचजनाको मात्रै पठाएको खुलेको छ । कार्यालयका रजिस्ट्रार राजन पोखरेलले धनराजको नाम हटाएर अन्यविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाउन सिआइबीलाई सिफारिस गरिएको स्वीकार गरे । ‘मितेरीको तर्फबाट सचिव बोधविक्रम थापा उजुरी लिएर हामीकहाँ आएका थिए । उजुरीमा धनराज गुरुङ, ज्योति गुरुङसहित सहकारीसँग सम्बन्धित अन्य व्यक्तिको नाम पनि उल्लेख थियो । धनराजको नाम हटाएर ज्योति र निजसँग सम्बन्धित अन्यविरुद्ध अनुसन्धान गर्न हामीले सिआइबीलाई पत्राचार गरेका हौँ ।’