दुई पटक अस्वीकार गरेको अमेरिकाले सन्दीपलाई दियो भिसा

सन्दिपले बलात्कार आरोपको मुद्दामा उच्च अदालतबाट सफाइ पाउँदा पनि अमेरिकाले भिसा दिएको थिएन। ‘सन्दिपले मंगलबार साँझ अमेरिकाको भिसा लागेको पासपोर्ट बुझेका छन्।’ सन्दिप निकटले भने।

दुई पटक अस्वीकार गरेको अमेरिकाले सन्दीपलाई दियो भिसा
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दिप लामिछानेले अमेरिकाको भिसा पाएका छन्। यस अगाडि आइसीसी टी-२० विश्व कपको समयमा अमेरिकाले सन्दिपलाई भिसा दिन दुई पटक अस्वीकार गरेको थियो। सन्दिपले बलात्कार आरोपको मुद्दामा उच्च अदालतबाट सफाइ पाउँदा पनि अमेरिकाले भिसा दिएको थिएन। ‘सन्दिपले मंगलबार साँझ अमेरिकाको भिसा लागेको पासपोर्ट बुझेका छन्।’ सन्दिप निकटले भने। भिसाकै कारण सन्दिपले अमेरिकामा भएको टी २० विश्व कप गुमाएका थिए। तर उनले वेष्टइन्डिजमा भने विश्व कप खेलेका थिए। आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज क्यानडा र अमेरिकामा हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजका लागि १६ सदस्यीय टोलीको घोषणा सोमबार गरेको थियो। नेपालले लिग २ अन्तर्गत पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग प्रतिस्पर्धा गर्नेछ। लिग २ पछि नेपाल, ओमान, र क्यानडाबिच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि हुनेछ। त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग खेल्नेछ, जबकि सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्ने तालिका छ। त्यसपछि नेपाल लिग २ खेल्न अमेरिका आउने छ। अमेरिकामा नेपाल, अमेरिका, र स्कटल्यान्डबिच त्रिकोणात्मक र टी-२० अन्तर्राष्ट्रिय दुवै सिरिज हुनेछ। लिग २ मा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा शीर्ष ४ टोलीले सिधै विश्वकप छनोटमा स्थान पाउनेछन्।