काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर तयार गरेका छन् । नेकपा एमालेका एक नेताले दिएको जानकारी अनुसार, दुई तिहाइ सांसदको हस्ताक्षर तयार भइसकेको छ।
यो संख्या संसद्मा बहुमतका लागि आवश्यक पर्ने संख्याको पर्याप्त हुन्छ। ‘सरकारलाई समर्थन गरेका सांसदहरूको हस्ताक्षर भइसकेको छ,’ एमालेका एक नेताले भने, ‘अब बुधबार (आज) संसद्मा दर्ता गर्ने पनि हुनसक्छ।’
हस्ताक्षर संकलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो (मंगलबार) बेलुकी भेट गरेका छन्।
भेटमा उनले प्रधानमन्त्री ओलीसँग उपसभामुखबारे सरकारको आधिकारिक धारणा माग गरेका थिए। दिनभर पोखरामा रहेका रविले काठमाडौं फर्किएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
उपसभामुखले सकभर राजीनामा दिएर मार्गप्रशस्त गराउने प्रयास सत्तारुढ दलहरूको छ। यद्यपि, उपसभामुख भने राजीनामा दिने मनस्थितिमा छैनन्।
तर, कांग्रेस–एमाले मंगलबार दिनभर सांसदहरूको हस्ताक्षर उठाइएको छ।
मंगलबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ।
एमालेले उपसभामुखले पदको गरिमा हटाउने काम गरेको आरोप लगाएको छ।
‘उहाँले पद अनुकुलको आचरण नगरेको भन्दै हिजो (भदौ २४) मा बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकमा कुरा उठेको रहेछ,’ एमाले मुख्य सचेतक महेश बर्तौलाले भने, ‘मंगलबार संसदमा रास्वपाका सांसदको गतिविधिले हामी सोच्न बाध्य भएका छौँ अब तयारी गर्नुपर्छ भन्ने भएको छ।’
कांग्रेसका अर्का सांसदले पनि राजीनामा दिए राम्रो हुने बताए।
‘उहाँले राजीनामा दिए राम्रो हो, यदि नदिए आज नै हटाउन प्रस्ताव दर्ता हुन पनि सक्छ,’ ती सांसदले भने, ‘उहाँको व्यवहारले मुलुकलाई अप्ठ्यारो पर्यो, संसदीय व्यवस्थामाथी आँच ल्याउने काम गर्नु भयो, अब उहाँलाई पदमा राख्न हुँदैन भन्ने मत बलियो बन्दै गयो।’
बालुवाटार स्रोतले पनि भदौ महिनाभित्र त्यो काम भइसक्ने जानकारी दियो। सोही अनुसार, नेकपा एमालेका सांसदहरूलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देशनसमेत दिइसकेको छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमाले सांसद्ले उनको राजीनामा मागेका थिए।
तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विरोधमा उत्रिएका छन्।
उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो।
उपसभामुख हटाउन दुई तिहाइ सांसदको हस्ताक्षर, महाअभियोगकाे प्रस्ताव आज दर्ता गर्ने तयारी
यो संख्या संसद्मा बहुमतका लागि आवश्यक पर्ने संख्याको पर्याप्त हुन्छ। ‘सरकारलाई समर्थन गरेका सांसदहरूको हस्ताक्षर भइसकेको छ,’ एमालेका एक नेताले भने, ‘अब बुधबार (आज) संसद्मा दर्ता गर्ने पनि हुनसक्छ।’

