पोखरा विमान दुर्घटना : शव काठमाडौँ पठाइँदै

शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ ।

पोखरा विमान दुर्घटना : शव काठमाडौँ पठाइँदै
कास्की । आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाडौंसहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । “हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ”, उनले भने, “अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ ।” शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौँ पठाइने प्रजिअ केसीको भनाइ छ ।