सहकारी ठगी प्रकरणमा मुछिएका कांग्रेस नेता धनराज गुरुङ के भन्छन् ?

धनराज र उनकी श्रीमती ज्योति गुरुङविरुद्ध ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा विभिन्न निकायमा उजुरी तथा निवेदन परेको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका कांग्रेस नेता धनराज गुरुङ के भन्छन् ?
काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफूलाई फसाउने खोजिएको दाबी गरेका छन् । धनराज र उनकी श्रीमती ज्योति गुरुङविरुद्ध ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा विभिन्न निकायमा उजुरी तथा निवेदन परेको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन महाप्रबन्धक ज्योती गुरुङले सहकारीको महाप्रबन्धक रहेको समयमा १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको संस्थाका अध्यक्ष कुम्भराज गुरुङले बताए। ज्योती गुरुङ विगत चार वर्षदेखि सम्पर्कविहीन रहेको उनको भनाइ छ । यो प्रकरणमा धनराज गुरुङ समेत मुछिएका छन् । २०७६ फागुन २९ गते श्रीमती ज्योतीसँग सम्बन्धबिच्छेद भएको बताउँदै गुरुङले आफूलाई फसाउन अहिले यो विषय उचालेको दाबी गरे । ‘मलाई यो विषयमा केही पनि थाहा छैन । हाम्रो २०७६ फागुन २९ गते नै सम्बन्धबिच्छेद भएको हो,’ धनराज गुरुङले भने, ‘अहिले आएर मेरो नाम आएको छ । मलाई पहिलादेखि नै केही थाहा थिएन । अहिले अध्यक्षले मेरोविरुद्ध मुद्दा हालेको भन्ने सुनेको छु । अहिले क कसले के के भने, धनराजलाई दोषी देखाउने गरी उजुरी हालेको भन्ने सुनेको छु ।’ यस विषयमा समयमै सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न समेत उनले माग गरे । सहकारीका अध्यक्ष कुम्भराजले स्वयं जोगिनका लागि आफूलाई फसाउन खोजेको धनराजको आरोप छ । सहकारीले षडयन्त्र गरेर आफूलाई फसाउन खोजेको भन्दै निष्पक्ष रुपमा राज्यले छानबिन गर्नुपर्ने उनको माग छ । संस्थाका अध्यक्ष कुम्भराज गुरुङले भने १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेर ज्योती गुरुङ विगत चार वर्षदेखि सम्पर्कविहीन भएको बताएका छन् ।