काठमाडौं । लुक्स र फिचरमा दीपालको कारमा समस्यै समस्या देखिन थालेको छ । उकालोमा नतान्ने, चार्ज नटिकाउने जस्ता समस्याहरु देखिन थालेको छ । एक प्रयोगकर्ताका अनुसार कारले बेलाबेला टर्क गुमाउने कारण उनी वाक्क हुन लागेका छन् । उनका अनुसार ५ जना बसेर उकालो चढ्न थाल्दा सुरुमा त राम्रै तान्छ । तर, अरु ईलेक्ट्रिक कारको झैं पावरले निरन्तरता पाउँदैन ।
‘सुरुमा त राम्रै पिकअप छ । तर, उकालोमा केही अघि बढेपछि कारमा पावर नै आउँदैन,’ ती प्रयोगकर्ताले भने, ‘कम्पनीका अनुसार गाडीको सफ्टवेयरले नै मोटरमा धेरै लोड परेपछि तातेर थप समस्या आउनबाट जोगाउन ब्याट्रीबाट कम शक्ति खिच्छ । र, अर्को अर्थात् जबरजस्ती बढी ब्याट्री खाने मोडमा राखेर चलाउनुपर्छ ।’
यो समस्याका कारण यो गाडीलाई अप्ठेरो र बिग्रेको तथा केही बढी उकालो बाटोमा लैजान मनै नलाग्ने उनको भनाइ छ । ७५ लाख हालेर किनेको कारप्रति उनी सन्तुष्ट छैनन् ।
उकालोमा नतान्नेबाहेक कारको अर्का समस्या हो, चार्ज ड्रप हुनु । फुल चार्ज गरेर राखेको कारको चार्ज बिहान निकै कम हुने गरेको छ । विशेषगरी चिसो र पानी परेको वा ओसिल अवस्थामा कारको चार्ज नटिक्ने समस्या छ । त्यसबाहेक ढोकाको च्याप, सनरुफको काप र मुनिबाट पानी पस्ने समस्या रहेको गुनासो प्रयोगकर्ताले गर्ने गरेका छन् ।
दीपालको अर्को ठूलो समस्या हो, सेमि अटोमेटेड डोर ह्यान्डल । यो फेन्सी फिचरले कहिलेकाहीँ साथीभाई वा आफन्तलाई गाडी दिन निकै समस्या पर्ने गरेको छ । बाहिरबाट ढोका खोल्न दबिएको ह्यान्डल छ भने भित्रपट्टी ह्यान्डल नै छैन ।
भित्र ह्यान्डल नहुँदा साथी भाइहरु झुक्किन्छन् । भित्रपट्टिबाट ढोका खोल्न ह्यान्डलको सट्टा एउटा बटन छ। बटन थिचेर ढोका अनलक गर्ने र त्यसपछि ढोकालाई धकेल्नु पर्ने भएकाले नयाँ प्रयोगकर्ता निकै झुक्किने गरेका छन् ।
अर्को मुख्य कुरा हो, ढोका खोल्ने म्यानुअल ह्यान्डल नहुँदा गाडीको ब्याट्री पूर्णतः सकिनुअघि नै बाहिर निस्किनुपर्छ । नत्र भित्रै लक हुनेछ ।
त्यो भन्दा पनि मुख्य विषय हो, दुर्घटना भएर गाडीको अटोमेटेड प्रणालीले काम बन्द भएपछि ढोका खोल्न समस्या आउनेछ । ह्यान्डल भएको गाडीभन्दा फरक दिपाल भित्रबाट खोल्न निकै मुस्किल पर्ने छ ।
ल्याम्बोरगिनीको उरुस झैं देखिने यो ब्रान्डको लोगो अंग्रेजी अक्षर टी जस्तो देखिन भएकाले दीपाललाई टेस्ला किलर पनि भनिन्छ । तर, नेपाली बजार र प्रयोगकर्ताले पैसा किलर पनि भन्न थालेका छन् ।
नेपालको लागि चांगलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले सुरुमा कार बेच्ने बेला अमेरिकी कार कम्पनी टेस्लालाई चुनौती कार भनेर खुबै प्रचार गर्यो । एक अर्का प्रयोगकर्ता भन्छन्, ‘टेस्लाको त नजिक नि छैन। सुन भनेर किनेको पित्तल परेको फिल भइरहेको छ ।’
गाडीको धेरै राम्रा फिचरहरु भए पनि यसका केही फिचर निकै नै डरलाग्दा र अप्ठ्यारा छन् । जस्तो कि जताततै सेन्सर हुनु सुरक्षाका हिसाबले उत्तम मानिएपछि ब्लाइन्ड स्पट डिटेक्सनका कारण गाडीभित्र चेतावनी ध्वनीस्वरुप ‘ट्याङट्याङ’ आवाज आइरहन्छ ।
दीपाल कारमा समस्यै समस्या, प्रयोगकर्ता भन्छन्- 'सुन भनेर किनेको पित्तल परेको फिल भइरहेको छ’
यो समस्याका कारण यो गाडीलाई अप्ठेरो र बिग्रेको तथा केही बढी उकालो बाटोमा लैजान मनै नलाग्ने उनको भनाइ छ । ७५ लाख हालेर किनेको कारप्रति उनी सन्तुष्ट छैनन् ।

