काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर ७२ नम्बरको जहाज दुर्घटनामा बागलुङका तीन जनाले ज्यान गुमाएका छन् । आइतबार बिहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको जहाज गन्तव्यमा नपुग्दै दुर्घटना हुँदा उनीहरुले ज्यान गुमाएका हुन्।
दुर्घटनामा बागलुङका बडिगाड गाउँपालिका ३ सिसाखानीकी लोकगायिका निरा छन्त्याल, बागलुङ नगरपालिका ४ कुँडुलेका ५३ वर्षीय शालिकराम आचार्य र गलकोट नगरपालिकाकी २१ वर्षीय बन्दना सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुसहित ६८ जनाले ज्यान गुमाएका छन् ।
घटनास्थलबाट ६३ जनाको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल)मा राखिएको कास्कीका एसपी अजय केसीले जानकारी दिए । घटनास्थलमा ३ जनाको शव देखिएको र ६ जनाको अवस्था अझै अज्ञात रहेको एसपी केसीले बताए । उनका अनुसार २५ जनाको शव सनाखत गरिएको छ । शव पोष्टमार्टम गण्डकी अस्पतालमै गरेर परिवारलाई हस्तान्तरण गर्ने प्रशासनको तयारी छ ।
खुसी बिसाउन नपाउँदै पोखराको आकाशमा बिलाइन् निरा
गायिका निरा छन्त्यालले २ दिनअघि सामाजिक सञ्जालमा आमाले देखेको सपना पूरा गर्न पाएकोमा खुशी व्यक्त गरेकी थिइन्।
उनले आफूलाई जन्मदिने बाबुआमा र साथ दिने सबैलाई सम्झिएकी थिइन्। आमाको कोख र बुवाको काखले गर्व गर्न सक्ने काम गर्न पाएकोमा खुशी लागेको बताएकी थिइन्। तर जीवनमा पाएको त्यो खुशी तंरगित हुन नपाउँदै उनी पोखराको आकाशमा बिलाइन्।
आइतवार बिहानसम्म उनको पोस्टमा शुभकामना लेखिरहेका शुभचिन्तक अहिले समवेदना लेखिरहेका छन्। आँसु बगाएका इमोजी प्रयोग गर्दै उनीहरु भनिरहेका छन् ‘आमाका अझै कति धेरै सपना थिएन होलान्, पूरा गर्नै पाइनौँ सानी !´
उनको आइतबार १२ बजे पोखरामा कार्यक्रम थियो । काठमाडौंबाट हिड्नुअघि उनले फेसबुकमा आज पोखरामा भन्दै स्ट्याटस पोष्ट गरेकी थिइन् ।
२०५७ सालमा जन्मिएकी निरा छन्त्यालको बुवा महेन्द्र छन्त्याल र आमा लीला छन्त्याल गाउँमै रहेका छन् । गायिका बनेर पहिचान बनाउने उद्देय बोकेर ६ वर्ष अघि काठमाडौं आएकी निराले लाइभ दोहोरीमा छुट्टै पहिचान बनाएकी थिइन् । काठमाडौं पसेका सुरुवाती दिनमा संघर्ष गरेकी निरा पछिल्लो समय स्टेज कार्यक्रमदेखि लाइभ दोहोरीमा व्यस्त थिइन्। संघर्षका दिन सम्झिँदै निरा भन्थिन् ‘दुःख हरेक ठाउँमा छ । काम अनुसरा दुःखको फरक हुन्छ । कसैका दुःखलाई कम नसोचिदिनुहोस्।’ उनलाई दोहोरी क्षेत्रमा हाँसिरहने गायिकाका रुपमा चिनिन्थ्यो। बाग्लुङमा सञ्चालित लोक ताराको विजेता बनेसँगै काठमाडौं पसेकी निराले मिठो नमिठो दुबै अनुभव संगालिन् । उनी गायनमा आएको धेरै लामो समय भएको छैन। तर कामका सकारात्मक र नकारात्मक दुबै पाटो भोगेको बताउने निरा विगतमा अल्झिएर बस्दिनथिन्। उनी भन्थिन्, ‘बाँचेर आएको जीवनको समीक्षा गरेर बाँकी रहेको जीवन दुखाउनु हुँदैन।’ सफलताको ग्राफ निरन्तर बढिरहेकै बेला निरा देश तथा विदेशमा हुने कार्यक्रममा व्यस्त थिइन्। लामो समय परिवारसँग बस्न नपाएकी निराले आइतबार बिहान पनि आमालाई फोन गरेर छिट्टै भेट्ने वाचा गर्दै विमान चढेकी थिइन्। धुवाँको मुस्लोसँगै उड्यो बन्दनाकाे सपना हजुरआमा बिरामी भएपछि बागलुङ गलकोट नगरपालिका घर भएकी २१ वर्षीय बन्दना सुनार ४ दिनअघि मात्र अमेरिकाबाट नेपाल आएकी थिइन्। उनकी हजुरआमा काठमाडौंमै उपचाररत छिन्। साथी र आफन्तलाई ‘सरप्राइज’ दिन उनी आइतबार बिहान कसैलाई नभनी पोखरा आउँदै थिइन्। उनी पनि सोही जहाजमा परिन्। ‘बन्दना नेपाल आएको छ भनेर हामीले त बल्ल आज थाहा पाएको हो, ऊ जहिले पनि सरप्राइज दिएर आउँछ,’ उनकी दिदी जेमी सुनारले आँशु पुछ्दै भनिन्, ‘यो कस्तो सरप्राइज हो! ’ बुहारीको बिदाइ नै अन्तिम बागलुङ नगरपालिका ४ कुँडलेका शालिकराम आचार्य बुहारीलाई बिदेश पठाउन काठमाडौं आएका थिए । शनिबार बुहारीलाई जापान पठाएर घर फर्किन पोखराको टिकट लिएका उनी कहिल्यै घर नफर्किने गरी अस्ताएका छन् । ५३ वर्षीय आचार्यको विमान दुर्घटनामा मृत्यु भएपछि कुँडुले शोकमग्न भएको छ ।बाग्लुङ बडिगाड गाउँपालिका ३ सिसाखानीकी गायिका निरा छन्त्याल लाइभ दोहोरी गायनमा सक्रिय थिइन् ।

बाग्लुङ बडिगाड गाउँपालिका ३ सिसाखानीकी गायिका निरा छन्त्याल लाइभ दोहोरी गायनमा सक्रिय थिइन् ।