काठमाडौं । अवैध रूपमा अमेरिका गइरहेका १ सय ७६ जना नेपाली ब्राजिलमा फसेका छन् । यद्पि उनीहरू सुरक्षित रहेको र आवश्यक मानवीय सहयोगका लागि समन्वय भइरहेको ब्राजिलस्थित नेपाली दूतावासले मंगलबार जानकारी दिएको छ ।
ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा सात सय विदेशीहरू रोकिएका र उनीहरूमध्ये १ सय ७६ जना नेपाली रहेका दूतावासले जनाएको छ । उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्याउने तयारी भइरहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएमा ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको पनि दूतावासले जानकारी दिएको छ । नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तब्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने जनाइएको छ ।
विमानस्थलमा शरणार्थीको मान्यता पनि नदिइने नियम लागू भएको छ । दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो रहेको दूतावासले जनाएको छ ।
संगठित रूपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको उल्लेख गर्दै दूतावासले विज्ञप्तिमा भनेको छ, 'कैयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ ।'
अमेरिका हिँडेका १ सय ७६ जना नेपाली ब्राजिलमा फसे
अवैध रूपमा अमेरिका गइरहेका १ सय ७६ जना नेपाली ब्राजिलमा फसेका छन् । यद्पि उनीहरू सुरक्षित रहेको र आवश्यक मानवीय सहयोगका लागि समन्वय भइरहेको ब्राजिलस्थित नेपाली दूतावासले मंगलबार जानकारी दिएको छ ।

