शिक्षामन्त्री भट्टराईले मागिन् त्रिविका पदाधिकारीको सुरक्षा

केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् ।

शिक्षामन्त्री भट्टराईले मागिन् त्रिविका पदाधिकारीको सुरक्षा
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रवन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् । मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको बताएकी छन् । 'त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु' उनले फेसबुकमा लेखेकी छन् । आफ्नै सरकार हुँदा पनि सामाजिक सञ्जालमार्फत् त्रिविको सुरक्षा माग गरेको भन्दै उनको आलोचना भइरहेको छ । त्यसपछि उनले लेखेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु ।’