बडिगाडका पहिरो पीडितलाई माओवादीको सहयोग : सांसद पौडेलले हस्तान्तरण गरे २ लाख १६ हजार

माओवादी केन्द्रका केन्द्रीय सचिव एवं बागलुङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको उपस्थितिमा पहिरो प्रभावितलाई शनिबार राहत रकम वितरण गरिएको हो ।

बडिगाडका पहिरो पीडितलाई माओवादीको सहयोग : सांसद पौडेलले हस्तान्तरण गरे २ लाख १६ हजार
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–९ र १० का पहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), बागलुङ र उक्त दलसम्बद्ध जनसंगठनहरूको पहलमा सङ्कलित दुई लाख १६ हजार आज पहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो । माओवादी केन्द्रका केन्द्रीय सचिव एवं बागलुङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको उपस्थितिमा पहिरो प्रभावितलाई शनिबार राहत रकम वितरण गरिएको हो । पहिरोमा परी मृत्यु भएका ११ जनाका परिवार र बेपत्ताका एक परिवारलाई जनही १३ हजार, सख्त घाइते दुईजनाका परिवारलाई जनही १० हजार र घर पूर्ण रूपमा क्षति भएका चार परिवारलाई जनही १० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिएको उक्त दलका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिए । पहिरो प्रभावितको राहतका लागि माओवादी केन्द्रको जिल्ला समन्वय समिति, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, अखिल नेपाल स्वास्थ्यकर्मी सङ्घ, राष्ट्रिय कर्मचारी संगठनलगायतले राहत रकम संकलन गरेका थिए । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बागलुङले पहिरो प्रभावित परिवारका लागि गत साउन २५ देखि २९ गतेसम्म बागलुङ बजारका व्यवसायीबाट ५० हजार राहत रकम संकलन गरेको संगठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । गत साउन २२ गते राति परेको अविरल वर्षापछिको पहिरोमा परी बडिगाड–९ बलघाँस र १० आरुपाटामा ११ जनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था अझै अज्ञात छ । पहिरामा चार घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको र ६२ परिवार पहिरोबाट प्रभावित भएका छन् । विस्थापित परिवारले गाउँको विद्यालय भवन र छिमेकीकोमा आश्रय लिइरहेको जनाइएको छ । राहत वितरणका क्रममा प्रतिनिधिसभा सदस्य पौडेलले बाढी प्रभावित परिवारको राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सक्दो पहल गर्ने बताए ।