दक्षिण एसियाली राष्ट्रहरूबीच हुने यू–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्दै छन् ।
नेपाल र श्रीलंकाबीचको खेल आज दिउँसो ३ बजे सुरु हुनेछ । नेपाली टोलिका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसपटक तयारीका लागि पर्याप्त समय पाएकाले जित हासिल गर्ने बताए ।
तयारी पनि सातदोबाटो खेल मैदान गरेको भन्दै खेल पनि यही मैदानमा हुने भएकाले प्रतियोगितामा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।
'तयारीका लागि करिब ४५ दिन समय पाएका थियौँ । गत वर्ष यू–१९ खेलेका, ‘ए’ डिभिजनदेखि ‘सी’ डिभिजनसम्म खेलेका अनुभवी र केही नयाँ खेलाडी पनि आएका छन्,' श्रेष्ठले भने, 'सन्तुलित समूह बनेको छ । हाम्रो लक्ष्य उपाधि जित्नु हो ।'
कप्तान कुशल देउवाले यसपटक समूह सक्षम र बलियो रहेकाले आफूहरू मानसिक रूपमा पनि तयार रहेको बताए । सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो । उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।
नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौँ संस्करण आयोजना गरेको थियो ।
सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा पनि नेपाल च्याम्पियन बनेको थियो । त्यसपछि भारतले लगातार तीनपटक जित्दै उपाधिमा ह्याट्रिक गरिसकेको छ । अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुईपटक सेमिफाइनल पुगेको छ । एकपटक समूह चरणबाटै बाहिरिएको छ ।
श्रीलंकाका प्रशिक्षक देभ्साग्याम राजमनीले उक्त प्रतियोगिताको लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य राखिएको बताए । साविक विजेता भारतका प्रशिक्षक रञ्जन चौधरीले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको बताए ।
बंगलादेशका प्रशिक्षक एकेएम मारुफुल हकले आफ्नो टोलीमा अनुभवी खेलाडीहरू भएकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य रहेको बताए । बंगलादेश गत संस्करणको उपविजेता बनेको थियो । भुटानका कप्तान पेमा जाङ्गपोले यसपटक आफ्नो टोलीले नयाँ इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए ।
साफ यू–२० च्याम्पियनसिप आजदेखि, श्रीलंकासँग नेपाल भिड्दै
तयारी पनि सातदोबाटो खेल मैदान गरेको भन्दै खेल पनि यही मैदानमा हुने भएकाले प्रतियोगितामा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

