काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्यबाट समेत बर्खास्त गर्ने तयारी स्वरुप सोधेको स्पष्टीकरणको जवाफ पूर्वमहामन्त्री मुकुल ढकालले दिएका छन् । रास्वपाले हिजो बुधबार सोधेको स्पष्टीकरणको जवाफ उनले आज बिहीबार पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरी लिखित रूपमा पठाएका हुन् ।
आफूमाथि यसअघि गरिएको कारबाहीसम्बन्धी कागजतको प्रमाणित प्रतिलिपी उपलब्ध गराइदिन पठाएको पत्र दर्ता नै नगरी थप कारबाही गरिएकोप्रति उनले आपत्ति जनाएका छन् । ‘उल्टै स्पष्टीकरणको पत्र पठाउनु तपाईं रवि लामिछानेले पार्टी विधि, विधानविपरीत, थितिरहित हुकुमी निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुन्छ’, ढकालले भनेका छन् ।
लामिछाने वा अरु कुनै पनि नेतालाई आफूले झुटो आरोप नलगाएको उनको दाबी छ । ‘ती सबै सत्यमा आधारित छन् । तपाईंले ममाथि स्पष्टीकरण सोध्नुअघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ’, स्पष्टीकरणको जवाफ भनिएको पत्रमा ढकालले लेखेका छन् ।
लामिछानेलाई उनले नैतिक रूपले पतित नभएको भए केही प्रश्नको जवाफ दिन चुनौती पनि दिएका छन् ।
ढकालले लामिछानेलाई सोधेका प्रश्नहरू यस्ता छन्ः
१. सहकारी ठगी मुद्दामा तपाईंमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ?
तपाईंले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक-पटक ढाँट्नु भएको छ । म स्वयंले पनि तपाईंको ढाँटलाई सत्य मानेर बसिरहेको थिएँ तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईंमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ । सर्वोच्च अदालतको फैसलालाई तपाईं मान्ने कि नमान्ने ? फैसलाअनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफूमाथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आँट छ ? रवि लामिछाने ज्यू ?
२. तपाईंले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ । आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नुभयो, घाम झैं छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ । विद्यमान ऐन कानुनअनुसार तपाईं मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नुहुन्छ । तपाईंले विगतमा गरेको अपराधका लागि पार्टी बली चढ्नुपर्ने ? आँट छ भने आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?
३. नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईंले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो, जनता र पार्टीका साथीहरूलाई स्पष्ट पार्नुहोस् । कार्य सम्पादन मूल्याङ्कनमा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नुभयो, त्यो भ्रष्ट्राचारको सङ्केत होइन ? आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीतिअन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरूको बैङ्क स्टेटमेन्ट सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?
यसबाहेक अरु थुप्रै प्रश्न जनताले सोधिरहेको ढकालको दाबी छ । ‘समीक्षा प्रतिवेदनमार्फत पनि कैयन् प्रश्नहरू जनताले तपाईंलाई सोधेका छन् । जनताका यी सबै प्रश्नको जवाफ दिने आँट गर्नुहोस्’, उनले सुझाएका छन्, ‘आफूमाथि लागेका आरोपउपर निष्पक्ष स्वतन्त्र छानबिन समिति गठन गर्ने आँट गर्नुहोस् ।’
पार्टीको छवि आफ्नो कारणले नभएर स्वयम् सभापति लामिछानेका कारणले धुमिल हुँदै गएको ढकालको आरोप छ ।
मुकुल ढकालले मागे सभापति रवि लामिछानेको राजीनामा, बैंक स्टेटमेन्ट सार्वजनिक गर्न चुनाैति
यसबाहेक अरु थुप्रै प्रश्न जनताले सोधिरहेको ढकालको दाबी छ । ‘समीक्षा प्रतिवेदनमार्फत पनि कैयन् प्रश्नहरू जनताले तपाईंलाई सोधेका छन् । जनताका यी सबै प्रश्नको जवाफ दिने आँट गर्नुहोस्’, उनले सुझाएका छन्, ‘आफूमाथि लागेका आरोपउपर निष्पक्ष स्वतन्त्र छानबिन समिति गठन गर्ने आँट गर्नुहोस् ।’

