श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

प्रहरीका अनुसार मङ्गलबहादुरले श्रीमती लक्ष्मीलाई आफ्नै घरभित्र बन्चरो प्रहारगरी हत्या गरेको र शवलाई टुक्रा पारेर दुई वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा गाडेका थिए ।

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
मकवानपुर । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । मकवानपुर कैलाश गाउँपालिका–५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मङ्गलबहादुर पाख्रिन श्रीमतीको हत्या आरोपमा पक्राउ परेका हुन् । यही साउन २८ साँझ मङ्गलबहादुरले २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्या गरी कालीखोलास्थित सामुदायिक वनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मङ्गलबहादुरले श्रीमती लक्ष्मीलाई आफ्नै घरभित्र बन्चरो प्रहारगरी हत्या गरेको र शवलाई टुक्रा पारेर दुई वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा गाडेका थिए । घटनामा प्रयोग भएको धारिलो हतियार बञ्चरोको बिड फुकाली घरभन्दा पूर्वतर्फ खाल्डो खनी गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । खाल्टोमा गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडा खाल्डोबाट निकाली पाख्रिनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौँडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।