काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआइजी तथा हाल एन्टी करप्स नेटवर्कका निर्देशक रमेश खरेलले अख्तियारमा मंगलबार उजुरी दिएका हुन् ।
उनले कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको भन्दै छानबिन माग गरेका छन् ।
“घिसिङ प्रबन्ध निर्देशकमा नियुक्त भएको एक वर्षपछि २०७४ साउन ५ गते उनले आफ्ना चार भाइको नाममा तीन करोड पुँजी भएको तेन्डेल हार्डवेयर प्रालि दर्ता गरिदिएका थिए ।
उक्त कम्पनीमा आफ्ना चार दाजुभाइ गणेश, अनिल, सानुकान्छा र सुरेश घिसिङको नाममा प्रतिव्यक्ति ७५ हजार सेयर कित्ता हुने गरी कम्पनी खोलेको पाइएको छ,” खरेलले भनेका छन्, “रामेछापको सामान्य परिवारमा जन्मिएका उनका दाजुभाइले करोडौँको कम्पनी खोल्न सक्ने नै थिएनन् । यहीनिर प्रश्न उठ्छ– कुनै पेसा व्यवसाय नै नभएका चार दाजुभाइले त्यति ठूलो लगानीको हार्डवेयर कसरी खोले ? यसको जवाफ हो– कुलमानले नै यसको सबै व्यवस्थापन गरेका थिए ।”
खरेलले त्यसअघि नै कुलमानको सुनकोसी इन्जिनियरिङ कम्पनी रहेको भन्दै अहिलेसम्ममा पनि उक्त कम्पनी निरन्तर घाटामा देखिएको उल्लेख गरेका छन् ।
उनले त्यही कारण कुलमानको सम्पत्तिको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन जरुरी रहेको बताएका छन् । खरेलले विद्युत् खरिद सम्झौता पीपीएमा धेरै ठूलो घोटाला गरेको दाबी गरेका छन् ।
कुलमानविरुद्ध पूर्वडीआइजी खरेलले दिए अख्तियारमा उजुरी
उनले कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको भन्दै छानबिन माग गरेका छन् ।

