काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई पार्टीको नेतृत्व छाड्न सुझाव दिएका छन् ।
स्थायी कमिटीको जारी बैठकमा उनले पेश गरेको लिखित प्रस्तावमा प्रचण्डलाई राजकीय सत्ताको नेतृत्व गर्ने मौका दिइरहने भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका हुन् ।
२०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिकरूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेश भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।
शर्माले प्रचण्डमाथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।
उपमहासचिव शर्माले शान्ति प्रक्रियापछि पार्टीभित्र देखिएका र नेतृत्वले बेवास्ता गरेका १० समस्याहरुको पहिचान गर्दै यसका कारण नै पार्टी निरन्तर कमजोर भएर लोपोन्मुख अवस्थामा पुगेको बताएका छन् । पार्टी शुन्यतर्फ जानुको मुख्य दोषी नेतृत्व नै रहेको भन्दै अब नेतृत्व नयाँ पुस्तामा दिन प्रस्ताव गरेका छन् ।
उनले भनेका छन्–२०६४ सालको चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्रायः सबै हामीबाट खोसिएका छन् । हामी शुन्यतर्फ उन्मुख छौं । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ । र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं । बिडम्बना के छ भने,आज पार्टीमा जो जति छन् ती सबै असन्तुष्टि बोकेर बाँचेका छन् । यसको जिम्मेवारी अहिको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनाकानी गरिरहेका छौं ?
प्रचण्डमाथि जनार्दनका दर्जनौं आरोप (पूर्णपाठ)
स्थायी कमिटीको जारी बैठकमा उनले पेश गरेको लिखित प्रस्तावमा प्रचण्डलाई राजकीय सत्ताको नेतृत्व गर्ने मौका दिइरहने भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका हुन् ।

