काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८५ लाख डलर (करिब एक अर्ब रुपैयाँ) घोटाला भएको खुलासा भएको छ ।
पोखरा विमानस्थल निर्माण गर्दा ८५ लाख अमेरिकी डलरको कामबिना नै पैसा छुट्याएको थाहा पाएपछि आफूहरुले ६ महिनामै काम छाडेको परामर्शदाता मुरारी गौतमले बताए ।
‘प्राधिकरणले ८५ लाख डलरको काम घटी राखेको र पैसामात्र राखेको थाहा पाएपछि ६ महिना काम गरेर हामी बाहिरियौं’ उनले भने ।
संघीय संसदको लेखा समितिले प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको अध्यक्षतामा गठन गरेको एक उपसमितिको बैठकमा सहभागि गौतमले पोखरा विमानस्थल बनाउँदा कुल लागतभन्दा ८५ लाख डलर कम बनाएर काम लगाएको फेला परेको जनाए।
रकमको तुलनामा काम कम भएको थाहा पाएपछि र पोखरा विमानस्थल निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वले मिलेमतो गरेको आंशक लागेकोले ६ महिना काम गरेर छोडेको गौतमले दाबी गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले भने उक्त रकम घटी भए पनिपछि थप काम लगाएको र उक्त रकम थप गरेको दाबी गरेका छन् ।
'अधिकारीले संसदीय उपसमितिलाई भने, ‘पहिले काम कम हुने भनेर घटी भएको काम पछि सोही रकम बराबर अर्को काम दिएर पैसा थप गरिएको हो ।’
उनले अन्य परियोजनाको तुलनामा कन्सल्टेन्सीलाई २५ प्रतिशत रकम दिनुपरेकोले बढी खर्च पोखरा विमानस्थल निर्माण गर्दा भएको बताए ।
अधिकारीले ठेकेदारले नै कन्सल्ट्यान्सीलाई भुक्तानी दिएको बताए ।’अरु आयोजनामा १५ प्रतिशत कन्सल्टेन्सीले भुक्तानी पाउनेमा यो आयोजनामा सार्वजनिक खरिद ऐन फलो गरेर, अर्थ मन्त्रालयको स्वीकृति लिएर र मन्त्रिपरिषदले निर्णय गरेरै उक्त रकम दिएको हो’ उनले भने ।
यो रकम प्राधिकरण, अर्थमन्त्रालय र चिनियाँ अधिकारीको उपस्थितिमा त्रिपक्षीय सहमतिबाट भएको प्रदीप अधिकारीले बताए ।
पोखरा विमानस्थलमा १ अर्ब घोटाला भएको खुलासा
पोखरा विमानस्थल निर्माण गर्दा ८५ लाख अमेरिकी डलरको कामबिना नै पैसा छुट्याएको थाहा पाएपछि आफूहरुले ६ महिनामै काम छाडेको परामर्शदाता मुरारी गौतमले बताए ।

