विद्युत प्राधिकरणले लेखा समितिलाई बुझायो ३७ पोका 'टीओडी' बिल

संसदको अघिल्लो कार्यकालकोे लेखा समिति, उच्च अदालत, सर्वोच्च अदालतको आदेश दिँदा पनि बक्यौता उठ्न नसकेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले व्यवसायीको स्वार्थ बमोजिम गत पुस २४ गते लाल आयोग गठन गरेको थियो।

विद्युत प्राधिकरणले लेखा समितिलाई बुझायो ३७ पोका 'टीओडी' बिल
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम्स अफ डे (टीओडी) बिल बुझाएको छ। समितिको निर्देशनअनुसार प्राधिकरणले लोडसेडिङका बेला उद्योगले प्रयोग गरेको ९टीओडी मिटरको तथ्यांक मागे गरेअनुसार बुझाएको हो। संसदका प्रवक्तासमेत रहेका लेखा समितिका सचिव एकराम गिरीका अनुसार प्राधिकरणले ३७ वटा पोखाका विवरण पेश गरेको छ। उनले भने, ‘माग गरेअनुसारको विवरण पेश गरे भनेर प्राधिकरणले ३७ पोकामा कागजात ल्याएको छ। त्यहाँ के के छन् हामीले खोलेका छैनौँ।’ प्राधिकरणका अनुसार उक्त बिलमा ५० हजार पेज छन्। लोडसेडिङका बेला जनताको घरलाई अन्धकार बनाएर व्यवसायीले प्रयोग गरेको डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता तिर्न आनाकानी गर्दै भएका छन्। संसदको अघिल्लो कार्यकालकोे लेखा समिति, उच्च अदालत, सर्वोच्च अदालतको आदेश दिँदा पनि बक्यौता उठ्न नसकेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले व्यवसायीको स्वार्थ बमोजिम गत पुस २४ गते लाल आयोग गठन गरेको थियो। आयोगले व्यवसायीलाई फाइदा राज्यलाई अर्बौ रुपैयाँ छुट दिन गरी पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भए पनि व्यवसायीले बिल तिर्न आनाकानी गरेपछि विवाद फरि बल्झेको छ। अघिल्लोपटक नै लेखा समितिले ८ बुँदे निर्देशन दिँदै बक्यौता उठाउन भनिसकेको अवस्था लेखा समितिले प्राधिकरण र व्यवसायीलाई राखेर छलफल गरेको थियो। छलफलका क्रममा व्यवसायीले आफूहरुमाथि प्रयोग नै नगरेको बक्यौता तिर्न भनेको र टिओेडी बिल दिए तिर्न तयार रहेको बताएपछि समितिले प्राधिकरणसँग साउन १८ गते उक्त विवरण पेश गर्न भनेको थियोे। अब पेश भएको विवरण अध्ययन गरेर समितिले सरकार र प्राधिकरणलाई थप निर्देशन दिने गिरीले बताए। महालेखाको पछिल्ला प्रतिवेदनले डेडिकेटेड फिडर र ट्रंक लाइनको २१ अर्ब ८८ करोड बक्यौता बाँकी रहेको जनाएको छ भने पाँच वर्षअघि लेखा समितिले नै गरेको अध्ययन प्रतिवेदनमा १० अर्ब १४ करोड मात्रै बाँकी रहेको उल्लेख गरिएको छ। अधिकांश उद्योगले डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्क बुझाए पनि पहुँचवाल ५७ ले नतिर्न बहानाबाजी गरिरहेका छन्।