बडिगाड पहिरो : तीन घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, चार बेपत्ताको खोजी जारी

गम्भीर घाइते १९ वर्षीया रिमा पुन,२१ वर्षीया सीता थापा र ४६ वर्षकी संगीता बुढालाई बिहान साढे ९ बजेतिर नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

बडिगाड पहिरो : तीन घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, चार बेपत्ताको खोजी जारी
काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका १०, आरुपाटामा गएको पहिरोमा परी घाइते भएका तीनजनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ। गम्भीर घाइते १९ वर्षीया रिमा पुन,२१ वर्षीया सीता थापा र ४६ वर्षकी संगीता बुढालाई बिहान साढे ९ बजेतिर नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । बाँकी घाइतेहरूलाई भने बुर्तिबाङको अस्पताल लैजाँदै गरिएको र केही अहिलेसम्म पनि बाटोमै भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । उनका अनुसार बर्खाका कारण बाटो बिग्रिएकाले मूलबाटोसम्म घाइतेहरूलाई बोकेरै लगिएको छ भने त्यहाँबाट बल्ल गाडी चढाएर उपचारका लागि अस्पताल पठाइएको हो। उनका अनुसार पहिरोमा हराएका ४ जनाको पनि खोजी जारी छ। नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय अहिले पनि उद्धार जुटिरहेका छन्। मंगलबार आएको पहिरोले स्थानीय जोगबहादुर बुढाको घर पुरिँदा ८ जनाको मृत्यु भएको छ । घटनामा परी ९ जना घाइते छन् । मंगलबार बिहान बडिगाड ९ को बलघाँसमा खसेको पहिरोमा परी १५ वर्षीय विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको थियो।