काठमाडौं । चितवनको सिमलतालमा भेलबाढीले दुई वटा बस बगाएको अध्ययन कार्यदलले निष्कर्ष निकालेको छ। गृहमन्त्री रमेश लेखकलाई मंगलबार प्रतिवेदन बुझाउँदै अध्ययन कार्यदलले सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीलाई नै औंल्याएको हो।
दुर्घटनास्थल माथिको भिरालो पहाडी क्षेत्रमा उचित इन्जिनियरिङबिना नै सिमलताल–बांगेसाल–डुम्रेगाउँ जाने बाटो हालै खनिएको र सडक खन्दा निस्किएको माटो जथाभावी फाल्दा त्यसले भेलबाढी उत्पन्न गराएको कार्यदलको निष्कर्ष छ।
यसका अतिरिक्त दुर्घटनास्थल आसपासको भूगोल दुवैतर्फको भिरालो जमिन भएको पनि औंल्याइएको छ।
सडक निर्माण गर्दा ‘कट एण्ड फिल एप्रोच’ (सडक खन्दा निस्किएको माटो अलग्गै व्यवस्थापन) नगरी कटिङबाट मात्र सडक बनाइएको र अत्यधिक मात्रामा निस्किएको माटो सडकछेउको पाखामा त्यत्तिकै फ्याँकिएको पाइएको कार्यदलले निष्कर्ष निकालेको छ।
यस्तै निष्कर्ष सडक डिभिजन भरतपुरले पनि निकालेको थियो। भरतपुर महानगरपालिका वडा नम्बर २९ पर्ने डुम्रेगाउँ जाने बाटो खन्न वडाले पाँच लाख रुपैयाँ छुट्टयाएको थियो।
वातावरणीय प्रभाव मूल्यांकनबिना नै खनिएको उक्त बाटोमा असार २७ गतेदेखि परेको पानीले चिरा पारेको, कतै जमिन भासिएर खोल्सी परेको र परेको पानीले जथाभावी फ्याँकिएको माटो बगाउँदा भेलबाढीको रूप लिएको सडक डिभिजन भरतपुरको निचोड थियो।
गृह मन्त्रालयले गठन गरेको कार्यदलले पनि सडकमा कुनै टेवा, पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गइ सो पहिरो नै डेब्रिज (गेग्रान बहाव) को स्रोत बन्न पुगेको ठहर गरेको छ।
डेब्रिज सिँदुरे खोल्सा हुँदै तल झर्दा खोल्साको तल्लो भागमा स–साना पहिरोसमेत गएको र उक्त खोल्सामा केही वर्ष पहिले बनेको चेक ड्याम तथा ग्याबिन वालले सोको भार थेग्न नसकेको कार्यदलको ठहर छ। त्यसरी बगेको भेलबाढीले सडक क्रस गर्दै गरेका दुईवटा बसलाई धकेलेर त्रिशूली नदीमा खसालेको कार्यदलले निचोड निकालेको छ।
उक्त ग्रामीण सडक निर्माण गर्दा समग्र वातावरणीय पक्षलाई ध्यान नदिएको पनि कार्यदलले औंल्याएको छ।
नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने सिँदुरे खोल्सामा सडक डिभिजन भरतपुरले पनि लापरवाही गरेको तथ्य उजागर भएको छ। सिँदुरे खोल्सामा गत असार ८ गते पनि गेग्रान बहाव भइ क्याचपिट पुरिएको र उक्त क्याचपिट सफा नगरिएको तथ्य कार्यदलले औंल्याएको छ।
असार २७ गते राति ११ बजेदेखि १ बजेसम्म पनि सिँदुरे खोल्सामा गेग्रान बहाव भएर आवागन रोकिएको थियो। सडक डिभिजन भरतपुरले उक्त गेग्रान हटाइ एक बजे सडक खुलाएको थियो।
सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएकाले सडकको अवस्थाबारे सवारी, सुरक्षा निकाय र चालकले पूर्वानुमान गर्न नसक्दा उक्त मानवीय क्षति हुन पुगेको औंल्याइएको छ।
सडक सुरक्षाका दृष्टिले निकै जोखिमपूर्ण मानिएको नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो वर्षा भइरहेको र रातको समयमा सवारी चलाउँदा चालकले ‘सुरक्षा पहिले’ भन्ने मूल कुरामा ध्यान दिन नसकेको पनि प्रतिवेदनमा खुलाइएको छ।
गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गरिने बताए। गत असार २८ गते काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं जाँदै गरेका दुई वटा बस सिमलतालमा बगेका थिए।
भेलबाढीमा परेर त्रिशूलीमा खसेका बस हालसम्म बेपत्ता छन्। बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले ज्यान जोगाएका थिए। हराइरहेका ६२ यात्रुमध्ये २४ जनाको शव फेला परेको छ। त्यसमध्ये १९ जनाको सनाखत भएको छ।
यही घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकतत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनाइएको थियो।
कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी छन्।
सिमलताल बस दुर्घटनाबारे कार्यदलले औंल्याएका यी चार कारण
भेलबाढीमा परेर त्रिशूलीमा खसेका बस हालसम्म बेपत्ता छन्। बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले ज्यान जोगाएका थिए। हराइरहेका ६२ यात्रुमध्ये २४ जनाको शव फेला परेको छ। त्यसमध्ये १९ जनाको सनाखत भएको छ।

