डिस्चार्ज भए सौर्य एयरलाइन्स दुर्घटनाका घाइते क्याप्टेन शाक्य

जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा क्याप्टेन शाक्यको भने ज्यान जोगिएको थियो। सेना र प्रहरीले मिलेर उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्‍याएका थिए।

डिस्चार्ज भए सौर्य एयरलाइन्स दुर्घटनाका घाइते क्याप्टेन शाक्य
काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई डिस्चार्ज भएको छ। बुधबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएको अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिइन्। साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा क्याप्टेन शाक्यको भने ज्यान जोगिएको थियो। सेना र प्रहरीले मिलेर उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्‍याएका थिए। त्यहाँ सघन उपचार कक्ष (आइसियू)मा राखेर उनको उपचार भएको थियो। दुई दिनपछि स्वास्थ्य सुधारउन्मुख देखिएपछि उनलाई क्याबिनमा सारिएको थियो। घाइते अवस्थामा फेला परेका क्याप्टेन शाक्यको नाक, आँखामा चोट थियो। त्यस्तै, करङ र मेरूदण्डमा समेत असर पुगेको थियो। अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाका अनुसार उनको ठूलो शल्यक्रिया गर्नुपरेको थिएन । ‘हामीले ठूलो अपरेशन गर्नुपरेन। उहाँको जहाँजहाँ चोट लागेको थियो त्यहाँ हामीले उपचार गर्‍यौं। अनुहार, नाक, आँखामा चोट लागेको थियो,’ उनले भनिन्। उनका अनुसार क्याप्टेन शाक्यको करङका तीन वटा हड्डी भाँचिएका थिए। तर त्यसको औषधि चलाएर ठीक हुने उनले बताइन्। शाक्यको मेरूदण्डमा पनि चोट लागेको थियो। एमआरआई गरेर हेर्दा अपरेशन गर्न नपर्ने देखिएको डा. थापाले बताइन्।