लोकसेवा आयोगले मागेको ४६ पदमा दरखास्त नै परेन

बुधबारको गोरखापत्र दैनिकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्जिनियरिङ मेट्रोलोजी पदमा गरी ४३ पदमा पनि दरखास्त परेका थिएनन्।

लोकसेवा आयोगले मागेको ४६ पदमा दरखास्त नै परेन
काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा लोक सेवा आयोगले मागेको ४६ पदमा दरखास्त नै परेन। सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलागयतका पदमा कुनै पनि दरखास्त नै परेन। आन्तरिक र समावेशी गरी ४६ पदमा दरखास्त नपरेका हुन्। बुधबारको गोरखापत्र दैनिकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्जिनियरिङ मेट्रोलोजी पदमा गरी ४३ पदमा पनि दरखास्त परेका थिएनन्। त्योभन्दा पनि अघिल्लो आव २०७७/७८ मा स्वास्थ्य सेवाका कन्सल्टेन्ट प्लास्टिक सर्जन, कन्सल्टेन्ट हेमाटोलोजिस्ट सर्जनलगायत ७७ पदमा पनि दरखास्त नपरेको लोक सेवा आयोगले जनाएको छ। लोक सेवाको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आयोगले हरेक वर्ष सार्वजनिक गर्ने विभिन्न प्राविधिक सेवाका पदमा कुनै पनि दरखास्त पर्दैनन्। आयोगले सार्वजनिक गर्ने विज्ञापनसँग सम्बन्धित विषयका दक्ष जनशक्ति बजारमा नहुने र भइहाले पनि अध्ययनलगत्तै ती जनशक्ति बिदेसिने भएकाले धेरै प्राविधिक सेवाका पदमा दरखास्त नपरेको अनुमान आयोगको छ। लोक सेवा आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले दरखास्त नपर्नेमा नेपाल इन्जिनियरिङ र स्वास्थ्य सेवाका प्राविधिक पद सबैभन्दा धेरै रहेको जानकारी दिइन्। ‘आन्तरिक प्रतियोगिताका पदमा शैक्षिक योग्यता र कार्य अनुभव नहुनु, आयोगले गर्ने कतिपय विज्ञापनको पाठ्यक्रम नै नहुनु, केही पद सामावेशी समूहका हुने तर त्यस समूहमा दक्ष जनशक्ति नहुने नभएकाले दरखास्त नपरेका हुन्’, उनले भनिन्। निजामती सेवाका प्राविधिक सेवामा आयोगबाट सिफारिस भएपछि सेवा अवधिमा पर्याप्त रूपमा योग्यता अनुसारको सेवा सुविधा नहुने भएकाले कतिपय प्राविधिक पदमा दरखास्त नपरेको पनि उनले बताइन्। आर्थिक वर्ष २०७६/७७ मा निजामती सेवाको टाइपिष्ट पदका १३ वटा विज्ञापनमा र अन्य सेवाका १५ वटा गरी कुल २८ वटा विज्ञापनका विभिन्न पदमा र आर्थिक वर्ष २०७५/७६ मा प्रकाशित निजामती सेवातर्फका १७४ स्थानीय तहका ५९६ विज्ञापनमध्ये टाइपिस्ट पदका ११ वटा र न्याय र कानुन समूहको उपसचिव दलित समूहको पदमा दरखास्त नपरेको लोक सेवा आयोगले जनाएको छ। प्रवक्ता होमेगाईका अनुसार दरखास्त नपर्ने पदमा खरिदार र नायब सुब्बादेखि सहसचिव वा सो सरहका छन्। दरखास्त नपर्ने पदमा जल विज्ञान सहायक, नायब मौसम विज्ञान सहायक र आन्तरिक बढुवातर्फको टाइपिस्ट पदमा कुनै पनि दरखास्त नपरेको आयोगको प्रतिवेदनमा उल्लेख छ। आयोगले हरेक वर्ष गर्ने विज्ञापनमा अन्य विभिन्न पदमा भने एउटा पदका लागि करिब एक हजारको सङ्ख्यामा दरखास्त पर्ने गरेका छन्।