युएईमा मृत्युदण्डको सजाय सुनाएका भुवन फर्किए नेपाल

भुवन बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका उनका बुबा यमनारायण श्रेष्ठले बताए। भुवन र धादिङको नेत्रावती ४ का पहलमान थापा मगरलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

युएईमा मृत्युदण्डको सजाय सुनाएका भुवन फर्किए नेपाल
काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ नेपाल फर्किएका छन्। उनी हत्या गरिएका भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन्। भुवन बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका उनका बुबा यमनारायण श्रेष्ठले बताए। भुवन र धादिङको नेत्रावती ४ का पहलमान थापा मगरलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। उनीहरूले नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ। युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन्। कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ। भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे। त्यसपछि दुई परिवारले तीन लाख युएई दिराम बराबरको (एक करोड ८ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त गरिएको हो। भुवन नेपाल फर्किसके पनि पहलमान भने अहिले पनि थुनामुक्त भइसकेका छैनन्। उनको पासपोर्टको म्याद सकिएकाले दूतावासले आवश्यक कागजात प्रक्रिया पूरा गरेर केही दिनमै नेपाल फर्काइदिने तयारी गरेको पहलमानका मामा तेज आले मगरले बताए । दुवै परिवारले सहयोग जुटाएर पीडित परिवारलाई गत चैतमा एक करोड ८ लाख रुपैयाँ बुझाएका थिए। ‘सुरुमा पीडितको खातामा एक करोड रुपैयाँ जम्मा गरिदिएर भौचर पठाएका थियौं। तर युएईबाट तीन लाख दिराम बराबरको रकम नपुगेको भनेपछि फेरि ८ लाख रुपैयाँ जम्मा गर्‍यौं। चैतमै रकम बुझाएको भए पनि यतिका समय लाग्यो, भौचर अदालत पुग्न ढिला भएछ’, यमनारायणले भने।