काठमाडौं । नेपालमा कार्यरत अवैतनिक वाणिज्यदुतहरुको संस्था अनररी कन्लुलर कर्पस नेपाल (एचसीसीएन)ले मंगलबार १७औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ । साधारण सभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइसडिनमा भोलाविक्रम थापालाई चयन गरेको छ । हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कुटनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। आर्थिक कुटनीतिको माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो ।
आफ्नो स्वागत मन्तव्यमा एचसीसीएनका निवर्तमान डिन विष्णुकुमार अग्रवालले अवैतनिक वाणिज्यदुतहरुले लगानी भित्र्याउने, पर्यटनको प्रवर्धन गर्ने लगायत द्धिपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको बताए ।
नेपाली विधार्थीलाई विदेशमा अध्ययन गर्न छात्रवृत्ति देखि विदेशी राष्ट्रबाट मानवीय तथा विकास परियोजना भित्र्याउन समेत वाणिज्यदुतहरुले भूमिका खेलेको उनको भनाइ थियो ।
औपचारिक रुपमा सन् २००७ मा स्थापना भएको यो सस्थाका सदस्यले विश्वका ५ महादेशका ६२ देशलाई प्रतिनिधित्व गर्ने उनले जानकारी दिए ।
उनले एचसीसीएनले जेठको दोस्रो साता लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ बिषयको अन्तर्राष्ट्रिय कन्क्लेभको आयोजना गरेको र सो कार्यक्रममा विश्वका विभिन्न देशका १९ राजदुत तथा प्रतिनिधिहरु सहभागि रहेको बताए ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवद्र्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपुर्ण योगदान गरेको उनको भनाई थियो ।
एचसीसीएनका नवनियुक्त डिन ढकालले एचसीसीएनले आर्थिक तथा सांस्कृतिक रुपमा नेपाललाई विश्व समुदायसँग जोड्दै आएको बताए ।
एचसीसीएनको डिनमा चन्द्र ढकाल चयन
साधारण सभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइसडिनमा भोलाविक्रम थापालाई चयन गरेको छ । हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ ।

