तानसेन । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ ।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ ।
अत्यावश्यकीय मालबाहक बाहेकका गाडी नचलाउन आग्रह गरिएको छ । दुई वर्ष अघि पनि हिउँदे खोलामा सडक भासिएर एक हप्तासम्म सवारी साधन सञ्चालनमा कठिन भएको थियो ।
बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द
विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ ।