प्रतिनिधिसभाबाट आज ओलीले विश्वासको मत लिने

आज ओलीले संसदबाट झण्डै दुई तिहाइ मत पाउने अनुमान गरिएको छ। उनलाई कांग्रेस, एमाले, जसपा, लोसपा, जसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले मत दिने तयारी गरेका छन्। उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपालगायत दलले मतदान गर्ने तयारी गरेका छन्।

प्रतिनिधिसभाबाट आज ओलीले विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्। आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने संसद् सचिवालयले जनाएको छ। एमाले संसदीय दलका नेता ओली गएको असार ३० गते कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्‍मा पेश गरेको विश्वासको मत बहुमत सांसदले अस्वीकृत गरेका थिए। प्रचण्डले माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको मात्रै ६३ मत पाएका थिए। उनको विपक्षमा १९४ मत परेको थियो। आज ओलीले संसदबाट झण्डै दुई तिहाइ मत पाउने अनुमान गरिएको छ। उनलाई कांग्रेस, एमाले, जसपा, लोसपा, जसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले मत दिने तयारी गरेका छन्। उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपालगायत दलले मतदान गर्ने तयारी गरेका छन्। आज ओलीले कांग्रेसका ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टीका ४, स्वतन्त्र २ गरी १९४ मत पाउने सम्भावना छ।