बंगलादेशमा हिंसात्मक आन्दोलन : स्वदेश फर्किन थाले नेपाली विद्यार्थी

भारतीय भूमि हुँदै नेपाल आउने विद्यार्थीलाई भारत छिर्न भारतले पनि सहयोग गरिरहेको बताएको छ। अहिलेसम्म बंगलादेश गएका ९६८ भारतीय विद्यार्थी स्वदेश फर्किसकेका छन्। त्यसक्रममा ‘नेपाल र भुटानका विद्यार्थीलाई पनि अनुरोधमा भारत छिर्न सहयोग गरिएको’ भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।

बंगलादेशमा हिंसात्मक आन्दोलन : स्वदेश फर्किन थाले नेपाली विद्यार्थी
काठमाडौं । सरकारी जागिरमा आरक्षणको विरोध गर्दै बंगलादेशमा सुरु प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी स्वदेश फर्किन थालेका छन् । मेडिकल लगायत विषयमा अध्ययन गर्न बंगलादेश गएका नेपाली विद्यार्थी त्यहाँको पछिल्लो प्रदर्शनले वातावरण अशान्त बनेपछि नेपाल फर्किन लागेका थालेका हुन। स्थलगत मार्ग हुँदै उनीहरू नेपाल आउन थालेका हुन। भारतस्थित नेपाली दूतावासका अनुसार स्थलमार्ग हुँदै नेपालको पूर्वी नाकामार्फत उनीहरू नेपाल फर्किन थालेका हुन। दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले बंगलादेशबाट स्थलमार्ग हुँदै फर्किन लागेका विद्यार्थीलाई सहजीकरण गरिदिन ढाकास्थित नेपाली दूतावासले अनुरोध गरेको जानकारी दिए। भारतीय भूमि हुँदै नेपाल आउने विद्यार्थीलाई भारत छिर्न भारतले पनि सहयोग गरिरहेको बताएको छ। अहिलेसम्म बंगलादेश गएका ९६८ भारतीय विद्यार्थी स्वदेश फर्किसकेका छन्। त्यसक्रममा ‘नेपाल र भुटानका विद्यार्थीलाई पनि अनुरोधमा भारत छिर्न सहयोग गरिएको’ भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ। कति नेपाली विद्यार्थी स्वदेश फर्किन लागेका हुन भन्नेबारे भने एकिन जानकारी भने आफूहरुसँग नरहेको उनले बताए। ‘आज नेपाली विद्यार्थी फिर्ता आउन लागेको जानकारी ढाकाबाट आएको थियो,’ थापाले भने, ‘तर, कति विद्यार्थी आउन लागेको भन्ने जानकारी हामीलाई प्राप्त हुन सकेको छैन।’ आरक्षण विरोधी विद्यार्थीको प्रर्दशनमाथि सरकारले दमन गर्दा अहिलेसम्म १०५ जनाको मृत्यु भइसकेको छ भने करिब १ हजार ५ सय विद्यार्थी घाइते भएका छन्। सरकारी जागिरमा करिब ५५ प्रतिशत आरक्षण दिने व्यवस्था पुनः लागू गर्न बंगलादेशको अदालतले आदेश दिएपछि विद्यार्थीहरू आक्रोसित हुँदै प्रदर्शनमा उत्रिएका हुन्।