१३ दिनमा ३२७ अंक बढ्यो नेप्से

बुधबार नेप्से ५४.०४ प्रतिशत बढेर २३६४.६३ अंकमा पुगेको छ। बुधबार कारोबार रकममा समेत उच्च वृद्धि भएको छ। बुधबार १२ अर्ब ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

१३ दिनमा ३२७ अंक बढ्यो नेप्से
काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अझै रोकिने संकेत गरेको छैन। राजनीतिक परिवर्तन हुने चर्चासँगै असार १७ बाट बढ्न थालेको नेप्से १३औं कारोबार दिन बुधबारसम्म आइपुग्दा ३२७.५४ अंकले बढेको छ। यो असार १६ को २०३७.०९ को तुलनामा १६ प्रतिशतको वृद्धि हो। पछिल्लो १३ कारोबार दिनमध्ये दुई दिन सामान्य गिरावट देखिए पनि नेप्सेमा ११ दिन अधिकांश समय दोहोरो अंकले बढेको छ। त्यतिमात्र होइन, आइतबार, मंगलबार र बुधबार निरन्तर ५० अंकभन्दा माथिको वृद्धि देखिएको छ। बुधबारको सूचक २०७९ वैशाख २८ यताकै उच्च हो। जतिबेला नेप्से घट्दो ट्रेन्डमा थियो, त्यतिबेला सूचक २३६९.०६ मा थियो। बुधबार नेप्से ५४.०४ प्रतिशत बढेर २३६४.६३ अंकमा पुगेको छ। बुधबार कारोबार रकममा समेत उच्च वृद्धि भएको छ। बुधबार १२ अर्ब ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। मंगलबार ९ अर्ब ७ करोडको सेयर किनबेच भएको थियो। गत साता बिहीबारदेखि सबै दिन ६ अर्बभन्दा माथिको कारोबार भइरहेको छ। बुधबारको कारोबार रकम २०७८ भदौ १५ यताकै उच्च हो। भदौ १५ मा १३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो। जतिबेला नेप्सेले घट्दो ट्रेन्ड समायको थियो। नयाँ सरकार बन्ने चर्चा र बनिसकेपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको छ। तर, लगानीकर्ता सचेत नभए आगामी दिनमा गुमाउनुपर्ने अवस्था आउन सक्छ। सरकारले सेयर बजार सुधारका लागि कस्तो नीति लिन्छ, तय भइसकेको छैन। मौद्रिक नीति पनि कस्तो आउँछ, ठेगान छैन। सूचीकृत कम्पनीहरूको गत वर्षको वित्तीय विवरण सुधारिएर आउनेमा आशंका छ। यस्तो बेला हचुवाका भरमा यस्तो हुन्छ र त्यस्तो हुन्छ भनेर सेयर बजारमा लगानी गर्दा अपेक्षित कुरा पूरा भएन भने फेरि बजारले नकारात्मक गति देखाउँछ।