काठमाडौं । भारतका चर्चित फिल्म निर्देशक प्रदीप सरकारको निधन भएको छ । ६७ वर्षीय सरकारको निधनबारे उनका साथी हंसल मेहताले सामाजिक सञ्जालमा जानकारी दिएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको हो ।
निर्देशक प्रदीपको निर्देशनमा परिणीता, हेलिकप्टर इला र मर्दानी जस्ता हिट फिल्म बनेका छन् । प्रदीपले सन् २००५ मा फिल्म परिणीताबाट निर्देशनको दुनियाँमा प्रवेश गरेका थिए ।
उनले सन् २००७ मा लागा चुनरी मे दाग, २०१० मा लफंगे परिन्दे र २०१४ मा रानी मुर्ख्जीको फिल्म मर्दानी निर्देशन गरेका छन्। फिल्मसँगसँगै उनले फोर्बिडन लभुर दुरंगा जस्ता वेब सिरिज पनि निर्देशन गरेका थिए ।
प्रदीपको निधनमा बलिउड शोकमा डुबेको छ । उनको निधनमा अभिनेता मनोज बाजपेयीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन्। उनले लेखछन्, यो घटनाले निकै स्तब्ध भएको छु । हजुरको आत्माले शान्ति पाओस।