बागलुङ । बागलुङको बरेङ गाउँपालिका–१ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मङ्सिरमा बिजुली बल्यो । गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो ।
बीस किलोवाट क्षमताको उक्त लघु जलविद्युत् आयोजनाबाट उत्पादित विजुली बढ्दो जनसङ्ख्या र खपत बढ्दै जाँदा अपुग हुन थालेको थियो । आयोजनाबाट उत्पादित विद्युत्बाट स्थानीयले बत्ती बाल्ने, स–साना मिल र इलोक्ट्रोनिक सामान चार्ज गर्न मात्रै गर्ने गर्थे । अहिले पनि उक्त विद्युत् आयोजना सञ्चालनमा छ ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले केन्द्रीय प्रशारण लाइन गाउँमा पु¥याएपछि स्थानीयमा खुसीयाली छाएको छ । अब ठूला मेसिनरी सामान सञ्चालन गर्न सक्ने अवस्था भएको छ । पालुङखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष सकसबहादुर क्षेत्रीले लघु जलविद्युत्ले स्थानीयको जीवनमा ठूलो परिवर्तन लिएको सुनाउँदै अब केन्द्रीय प्रसारण लाइन पुगेपछि थप परिवर्तन ल्याउने बताए ।
लघु जलविद्युत पुरानो हुँदै गएको र बेलाबेलामा सामान्य समस्या आइपर्ने गरेको तर अब भने त्यस्तो समस्या नआउनेमा उनको विश्वास छ । अध्यक्ष क्षेत्रीले भने, “बीस वर्षअघि गाउँमा बिजुली बल्दा धेरै दङ्ग परेका थिए, पछिल्लो समय बिजुली खपत बढेको थियो । अब केन्द्रीय प्रसारण लाइन आएपछि पहिलेको तुलनामा केही सहज हुनेमा विश्वास छ ।”
विद्युत् प्राधिकरण्लो बरेङ गाउँपालिका छापा र ओखरेनीका एक सय ५० घरसँगै जैमिनी नगरपालिका–४, ८,९ र १० वडाका एक सय ५० गरी तीनसय घरमा केही हप्ता अगाडि मात्रै केन्द्रीय प्रशारण लाइन पु¥याएको छ ।
लघु जलविद्युत्को भरमा रहेका स्थानीयलाई केन्द्रीय प्रसारण लाइन पुगेपछि ठूलो राहत दिलाउने प्राधिकरणले जनाएको छ । स्थानीय थमबहादुर थापाले समय–समयमा विद्युत् गृह समस्या आउने र नहर पहिरोले बगाउँदा अन्धकारमा बस्न बाध्य भएको स्मरण गरे ।
अब उज्यालोमा बस्न पाउनुका साथै साना तथा मझौला उद्योगी सञ्चालन गर्न सकिने उनको भनाइ छ ।