काठमाडौं । बढुवा भएकै दिन नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
सरकारले सोमबारमात्र ज्ञवालीसहित ५ जनालाई एआईजीमा बढुवा गरेको थियो । उनी कोशी प्रदेशको प्रमुखको रूपमा कार्यरत् छन् ।
उमेर ढाँटेर जागिर खाएको प्रमाणसहित उजुरीपछि अख्तियारले कारबाही प्रक्रियाका लागि चासो देखाएको हो ।
कैलालीका शेरबहादुर चन्दले ज्ञवालीविरुद्ध गत फागुनको दोस्रो साता अख्तियारमा उजुरी गरेका थिए ।
अख्तियारले प्रहरीका उच्च अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण मागेर अध्ययन गर्न केही शंकास्पद डीआईजीको शैक्षिक प्रमाण पत्र र नागरिकता विवरण मागेकोमा ज्ञवालीमाथि थप छानबिन आवश्यक परेपछि विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन सोमबार साँझ गृहमा निर्देशन आएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार गृहलाई प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ ।