जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेशका ८ वटै जिल्लाका मुद्दा शाखामा कार्यरत २ सय ८० प्रहरीलाई एकैसाथ काज सरुवा गरेको छ । प्रहरी प्रादेशिक संरचनामा गएदेखि यस्तो सरुवा पहिलोपटक गरिएको हो ।
गत फागुन ५ मा जिल्ला र इलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको सरुवा गरिएको हो ।
एकैपटक यतिको सरुवाले मुद्दाको अनुसन्धान प्रभावित हुने प्रहरी अधिकारीहरु बताउँछन् । प्रदेशका प्रहरी अधिकारीदेखि जिल्ला प्रहरीका प्रमुखसम्म सरुवाले अनुसन्धान प्रक्रियामा गम्भीर असर पर्ने भएको भन्दै असन्तुष्ट देखिएका छन् ।
‘टाउकोमा हात राखेर फाँटका सबै प्रहरीहरु बसेका छन्,’ मुद्दामा काम गर्ने एक प्रहरी अधिकारीले भने, ‘नेपाली सेना जस्तो एकैपटकमा सबै जिल्लाका मुद्दा फाँटमा काम गर्ने प्रहरीलाई सरुवा गरेपछि काम गर्ने मनोबल घटेको छ, प्रदेशभर नै उथलपुथल छ ।’