बुटवल । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई बच्चासहित हाम फालेकी महिलाको शव भेटिएको छ । नहरमा हाम फालेको स्थान भन्दा एकसय मिटर तल दुवै छोरालाई सलले बाँधेको अवस्थामा तीनैजना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
आज दिउँसो २ बजेतिर सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतीमा थारूले ९ वर्षीय छोरा क्रिस र ७ वर्षीय सुमितलाई काखमा लिएर हाम फालेकी थिइन् । उनको जनपथ र सशस्त्र प्रहरीको टोलीले खोजी गरी मृत अवस्थामा फेला पारेको हो ।
ती महिलाको मानसिक सन्तुलन सामान्य नरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा छन् । उनी दुई छोरा र सासुसँग बस्दै आएकी थिइन् ।