काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएर मंगलबारदेखि दोहोरो संवाद गर्न थालेका छन् ।
गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । अहिले उनको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ ।
घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिएका छन् ।
सिवाकोटीका अनुसार उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको अनुहार घट्दै गएको छ ।
सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे नेता सिवाकोटीले फेसबुकमा लेखेका छन्– ‘फागुन– ९ बिहान १०ः१५ बजेको अपडेट अनुसार दुर्घटनापछि पहिलो पटक दोहोरो संवाद भएको छ । साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । कल्चर रिपोर्ट आज आउँदै छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको अनुहार घटेको छ । स्वास्थ्य सामान्यतर्फ गईरहेको छ ।’
सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा निधन भएको थियो ।