मोरङ । सुनसरीको धरान उपमहानगरपालिकामा खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा ८ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–१७ स्थित सविता राईको घरमा ग्यास मर्मत गर्ने क्रममा विष्फोट भएको हो।
सोमबार ग्यास चुहावट भएपछि ग्यास मर्मत गर्ने व्यक्ति बोलाएर बनाउने क्रममा विष्फोट भएको प्रहरीको भनाइ छ। घाइतेहरुको उपचार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।
प्रतिष्ठानका रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्माका अनुसार उपचारका लागि भर्ना भएका ८ जनामध्ये चार जनालाई काठमाडौँ पठाइएको छ।गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको र दुई जना विराटनगर हुँदै विमानमार्फत काठमाडौँ गएको प्रतिष्ठानले जनाएको छ। दुई जना डिस्चार्ज भएका छन्।
घटनापश्चात घाइतेको अवस्था बुझ्न सोमबार बेलुका प्रतिष्ठान पुगेका प्रदेशसभा सदस्य विजयकुमार राईले ग्यास कम्पनीको नियमन र अनुगमनमा जोड दिएका छन्। ग्यास कम्पनीहरुको काम कारबाही मापदण्डभित्र भएनभएको सन्दर्भमा सरकार आफैले सुक्ष्म ढंगबाट अनुगमन गर्ने र मापदण्ड बाहिरका कम्पनीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए।
सोमबार अपराह्न करिब पौने ५ बजेतिर घटना भएको प्रहरीको भनाइ छ। धरान–१७ आदर्श टोलस्थित सविता राईको घरमा भाडामा बस्ने ४२ वर्षीया शिक्षिका अञ्जना राईको खाना पकाउने ग्यास विष्फोट भएको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार घाइते हुनेमा २७ वर्षीया सविता राई, ६५ वर्षीया रामकुमारी राई, १० वर्षीय सुमिहाङ राई, ८ वर्षीय साङ्केन राई घाइते भएका छन्।
प्रहरी नायब उपरीक्षक मल्लका अनुसार चुहावट भएको ग्यास मर्मतका लागि पुगेका प्राविधिक धरान ११ का १९ वर्षीय अनिश कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का रहेका छन्