काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।
महाराजगन्जस्थित एक घरमा आइतबार साँझ भएको ४ घण्टा लामो वार्तामा ओलीले एकीकृत समाजवादी एमालेमा समाहित गर्नसमेत प्रस्ताव गरेका छन् ।
राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादीले पदाधिकारी बैठक गरेरै पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको निष्कर्षसहित स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने निर्णय लिएको छ । यसले राष्ट्रपतिमा एमालेसँग सहकार्यको ढोका लगभग बन्द गरेको छ ।
तर कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्नुअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकाल कम्तीमा चार वर्ष पुर्याउने लिखित सहमति खोजेका छन् । कांग्रेस नेताहरूले कम्तीमा तीन वर्ष दिन सकिने प्रस्ताव दाहाललाई गरिसकेका छन् । माओवादीको सोमबार भएको पदाधिकारी बैठकले भावी राष्ट्रपतिका लागि नयाँ समीकरणको ढोका खुला गर्दै आवश्यकताअनुसार निर्णय लिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललाई जिम्मेवारी दिएको छ ।
माओवादीबाट साथ नपाइने बुझेपछि एमाले अध्यक्ष ओलीले पनि आफ्नो पक्षबाट राष्ट्रपति बनाउने प्रयास जारी राखेका छन् । ओलीकै प्रस्तावमा आइतबार साँझ नेपालसँग वार्ता भएको थियो । त्यसपछि नेपालले आफू राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न दाहाललगायत कांग्रेस नेताहरूसँग भेटघाट गरेका छन् । उनले ओलीसँगको भेटबारे दाहाललाई सोमबार बताएका थिए ।
‘एमालेले समर्थन गर्छ भने तपाईंहरूले पनि गर्नुस्, संस्थागत निर्णय गराउनुस्,’ नेपालले दाहाललाई भनेका थिए । राष्ट्रपतिको उम्मेदवारमा जतिसक्दो छिटो स्पष्ट निर्णय लिन पनि उनले आग्रह गरेका थिए । नेपालसँगको वार्तापछि दाहाल पार्टी पदाधिकारी बैठकमा पुगेका थिए ।