काठमाडौं । निर्वाचन आयोगको निर्णयअनुसार जरिबानामा परेका स्थानीय तहका उम्मेदवारले अब जरिवाना तिर्नु नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सबै उम्मेदवारको जरिबाना माफी मिनाहा गर्ने निर्णय लिएकी छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिले जरिबानामा माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएर जरिबानामा परेका जनप्रतिनिधिहरूले गत माघ २२ गते गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई मिनाहाका लागि अनुरोधपत्र पठाएका थिए ।
यस्तै प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूलाई पनि ज्ञापनपत्र बुझाइएको थियो । उनीहरुको आग्रहअनुसार मन्त्रिपरिषद्कै निर्णय गरेर राष्ट्रपतिबाट यो निर्णय भएको हो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने सम्बन्धमा निर्वाचन आयोग गत भदौ ३१ मा निर्णय गरेको थियो ।
निर्वाचन खर्चको विवरण नबुझाएको कारण आयोगले १ लाख २३ हजार ६ सय ५० जना उम्मेदवारलाई कारबाही स्वरूप १ लाख ५० हजार देखि ७ लाख ५० हजारसम्म जरिबाना गर्ने निर्णय गरेको थियो ।
तर आयोगको यो अन्तिम निर्णय उपर उम्मेदवारहरुको तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरूले नेपालको सामाजिक, भौगोलिक, राजनीतिक र शैक्षिक परिवेशलाई न्यायिक दृष्टिमा राखी व्यवहारिक एवं परिस्थितिजन्य समस्याको समाधान गर्न एक पटक पुनर्विचार गर्नका लागि आग्रह गरेका थिए ।