काठमाडौं । आयोजना प्रभावित स्थानीयले सगरमाथा जलविद्युत कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ ५ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेको नेपाली कामदारका लागि भने माघ १९ गतेसम्म आईपीओ विक्री गरेको छ । सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि विक्री गरिएको हो ।
आयोजना प्रभावित स्थानीयका लागि भने कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता शेयर निष्कासन गरेको हो । स्थानीयले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाईन सम्बन्धी व्यवस्थाबाट समेत प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपि आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार रहेको छ । आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रहेको छ ।