काठमाडौँ । मासिक भत्ता र उपचारमा छुट नपाएको भन्दै मृगौला पीडितहरुको समूहले आन्दोलन गरेको छ । मृगौला पीडित सरोकार समाजको आयोजनामा आज माइतीघर मण्डलामा आन्दोलन भएको हो ।
२०७८ चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णयगरी पठाएको दीर्घरोगीलाई उपचार भत्ता कार्यान्वयनमा नल्याएको मृगौला पीडितहरुको गुनासो छ । त्यसबारे सरकारलाई झक्झकाउन पीडितहरुले ‘शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रम’ गरेका हुन् ।
समितिका अध्यक्ष बलराम सुवेदीको नेतृत्वमा थालिएको प्रदर्शनमा दुई दर्जन बढीको सहभागिता रहेको छ । मासिक भत्ता र ५० प्रतिशत उपचारमा छुट पाउनुपर्ने माग राख्दै उनीहरु गत माघ २७ गतेदेखि निरन्तर आन्दोलनमा छन् ।