काठमाडौं । सोमबार साढे ४ बजेतिर बालाजुस्थित गोंगबु बसपार्कभित्र रहेको ल्होस्ते मलमा सत्तारुढ माओवादी निकट यातायात मजदुरले आन्दोलनका नाममा व्यवसायीका पसलबाट करोडौ मूल्यका मोबाइल लुटेको घटनाले प्रतिनिधिसभामा प्रवेश पाएको छ।
बुधबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद डा प्रकाशशरण महतले यातायात मजदुरको आन्दोलनका नाममा व्यवसायीका सयौं पसल लुटिँदासमेत सरकार रमिते बनेको बताए।
उनले भने, ‘काठमाडौंको मुटुमै मजदुर या अन्य समूहको नाममा लुट मच्चिएको छ। राजधानीमै सरकारले सुरक्षा दिन सक्दैन भने गाउँका मानिसको हालत के होला यातायात मजदुरको नाममा दिनदहाडै लुटपाट भएको छ। मजदुर प्रवेश गरेका हुन् कि कुनै शक्तिको आडमा संलग्न भएका छन् कि त्यसको यथार्थ छानबिन गरेर न्यायिक निरुपण गरिनुपर्छ। सरकारले यी घटनामा संलग्नलाई परिणाम आउने गरी कारबाही गरोस्।’
महतले बसपार्क क्षेत्रको लोत्से मलसहितमा भएको लुटपाटमा संलग्नलाई कारबाही नभए देशभर नकारात्मक सन्देश जाने दाबी गरे। ‘यसले देशभर नकारात्मक सन्देश जान्छ। कारबाही नभए देशभर अराजकता फैलिन्छ। यदि यातायात मजदुरका जायज माग छन् भने सम्बोधन हुनुपर्छ। तर यसरी अराजकता फैल्याउने र लुट मच्चाउनेमाथि सरकारले कारबाही गर्नुपर्छ,’ उनले भने।
यातायात मजदुरका नाममा भएको लुटपाटमा सुरक्षा माग्दासमेत प्रहरी प्रशासनले आँखा चिम्लिएकामा उनले आपत्ति जनाए। गरिखानेहरु पसल, व्यवसाय डकैती गर्ने समूह हुनै नसक्ने उनको दाबी छ। यातायात मजदुरका नाममा सत्ता निकटका व्यक्तिको लुटपाटमा संलग्नता भए तिनलाई पनि कारबाही हुनुपर्ने कांग्रेसले माग गरेको छ।