काठमाडौं । नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् । सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा तोडफोड र लुटपाट भएको थियो ।
सोमबार ल्होत्से मलमा सञ्चालित पसलमा भएको तोडफोड । पसलहरूका सिसा र सटर तोडेरसमेत मोबाइल लुटिएको छ ।
लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले नयाँबसपार्क क्षेत्रबाट ४ जनालाई नियन्त्रणमा लिएको हो । घटनामा अरु मानिस पनि संलग्न हुनसक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
काठमाडौं प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अंगुर जिसीले लुटपाट आशंकामा केही मानिस पक्राउ परेको र उनीहरुमाथि सुक्ष्म अनुसन्धान भइरहेको बताए । घटनास्थलमा रहेका सीसीटीभी फुटेजको अध्ययन अनि प्रत्यक्षदर्शीसँग सोधपुछ जारी रहेकोले अरु मानिसको पनि संलग्नता हुनसक्ने भएर पक्राउ परेका मानिस सार्वजनिक नगरिएको उनले बताए ।
प्रदर्शनका क्रममा हिंसा भड्काएर लुटपाट र आगजनीमा संलग्नको खोजीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी र महाराजगञ्ज प्रहरीको टोली खटिएको छ । प्रहरीले घटनास्थलका सीसीटीभीका फुटेजहरू पनि संकलन गरिसकेको छ ।