बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका–३ घोसामा गोरु काटिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २८ गते विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गोरुको मासु र हतियारसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
स्थानीय चैते विकसँग बस्ने भत्तबहादुर सुनारले पाल्न लगाएको गोरु काटिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा लालबिर विक, १८ वर्षीय सरोज सुनार, ५५ वर्षीय यमबहादुर बिक, ५३ वर्षीय तिलप्रसाद सुनार, ३२ वर्षीय बलबिर कामी, ६० वर्षीय थमबहादुर सुनार, ४६ वर्षीय बिमल बिक, २२ वर्षीय बिनोद सुनार, ३० वर्षीय जालबहादुर कामी, ३७ वर्षीय भक्तबहादुर सुनार र ४० वर्षीय रिखप्रसाद सुनार रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको छ ।
नेपालमा गाइ वा गोरु काट्न कानूनी रूपमा पूर्ण प्रतिबन्ध छ । संविधान तथा मुलुकी फौजदारी संहिता, २०७४ अनुसार गाई वा गोरु काट्ने व्यक्तिलाई ३ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।








































