१८ सदस्य मन्त्रिपरिषद् बनाउने रास्वपाको तयारी, १३ गते बालेनले प्रधानमन्त्रीको शपथ लिँदै

‘मन्त्रालयको संख्या कसरी घटाउने गर्ने भन्ने गृहकार्य गरिराखेका छौँ। हाम्रो वाचापत्रमा १८ वटा मन्त्रालय कुरा उल्लेख छ। त्यही १८ को सेरोफेरोमा कसरी मिलाउने भन्नेमा आन्तरिक कामहरू गरिराखेका छौँ’, उनले भने। हाल कायम २२ मन्त्रालयलाई घटाएर बढीमा १८ वटा बनाउने रास्वपाको तयारी छ।

१८ सदस्य मन्त्रिपरिषद् बनाउने रास्वपाको तयारी, १३ गते बालेनले प्रधानमन्त्रीको शपथ लिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ मन्त्रिपरिषद् गठनको गृहकार्य जुटेको छ। बिहीबार रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच नयाँ मन्त्रिपरिषद् गठनबारे छलफल भएको हो । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नेताहरूबीच नयाँ सरकार गठनको विषयमा छलफल भएको हो। उनका अनुसार चैत १३ गते रास्वपा वरिष्ठ नेता बालेनले प्रधानमन्त्री पदको शपथ खाने छन्। रास्वपाले सोहीअनुसार संवैधानिक निकायहरूमा पत्राचार गरिसकेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीको शपथलगत्तै सबै मन्त्रीको शपथ गराउने तयारी छ। बालेनको नेतृत्वमा १८ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रयास भइरहेको बुर्लाकोटीले बताए। ‘मन्त्रालयको संख्या कसरी घटाउने गर्ने भन्ने गृहकार्य गरिराखेका छौँ। हाम्रो वाचापत्रमा १८ वटा मन्त्रालय कुरा उल्लेख छ। त्यही १८ को सेरोफेरोमा कसरी मिलाउने भन्नेमा आन्तरिक कामहरू गरिराखेका छौँ’, उनले भने। हाल कायम २२ मन्त्रालयलाई घटाएर बढीमा १८ वटा बनाउने रास्वपाको तयारी छ। हाल प्रधानमन्त्री, गृह, अर्थ, परराष्ट्र, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, स्वास्थ्य तथा जनसंख्या, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, खानेपानी र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय छन्। यस्तै सहरी विकास, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद गरी २२ मन्त्रालय छन् । हाल व्यवस्था गरिएको २५ सदस्यीय मन्त्रिपरिषद्‌मा ३ जना राज्यमन्त्री रहनेछन्। २२ मन्त्रालयलाई १८ झार्दा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरूलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको महामन्त्री बुर्लाकोटीले बताए।