सुनवल । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेलले सुकुम्बासी र मजदुरहरुको सपना पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बुधबार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र सुनवल नगरपालिकाको वडा नम्बर ७ को सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘लामो समयदेखि जग्गाको लालपुर्जा नपाएका नागरिकहरुको आवाज मैले नजिकबाट बुझेको छु’, उनले भने, ‘तत्कालिन प्रधानमन्त्री प्रचण्डको पालामा आयोगले धेरै सुकुम्बासीलाई लालपुर्जा दिएको थियो बाँकी रहेकालाई अब दिलाउँछु ।’ उनले नवलपरासी पश्चिम २ मा भएका औद्योगिक क्षेत्रमा नेपाली मजदुरहरुलाई नै लगाएर आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
‘ठूला-ठूला कम्पनीहरु यहाँ अवस्थित छन् ती कम्पनीहरुले भारतबाट मजदुर ल्याएर काममा लगाउने गुनासो सुनेको छु,’ उनले भने, ‘नेपालमा भएका कम्पनीमा यहीँका स्थानीय मजदुर राख्ने गरी समन्वय गर्छु ।’
उनले नेपाल-भारतको सिमानामा रहेको महेशपुर भन्सार नाकालाई पूर्ण कार्यान्वयनमा ल्याउने बताएका हुन् । ‘नेपाल भारतको सिमानामा रहेको महेशपुर भन्सार कार्यालय पूर्ण रुपमा कार्यान्वयनमा नआउँदा धेरै जना रोजगारीबाट बञ्चित हुन परेको छ,’ उनले भने, ‘अर्थमन्त्रालय छलफल गरेर चाँडै पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।’
नवलपरासी पश्चिममा नागरिकताको समस्या अझै रहेको बताउँदै त्यसको समाधानका लागि काम गर्ने बताए । ‘पश्चिम नवलपरासीमा नागरिकताको समस्या रहेको मैले बुझेको छु,’ उनले भने, ‘संविधानले प्रत्येक नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गराउन नहुने भनेको छ । तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले नागरिकताको विषय समाधान गरेको छ ।’
शिक्षामन्त्री हुँदा विद्यालयका पूर्वाधार तथा आइसीटीको क्षेत्रमा नवलपरासी प्राथमिकतामा राखेको बताउँदै बन्न बाँकी पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । नवलपरासीमा स्वास्थ्य, खानेपानी, सिचाईको समस्या रहेको बताउँदै संघीय सरकारसँगको समन्वयमा समाधान गर्ने बताए ।


































