काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन सुरक्षाका लागि मधेश प्रदेशमा तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई जिम्मेवारी बाँडफाँट गरिएको छ। निर्वाचन पहिलेबाटै प्रदेशका ८ वटा जिल्लाको सुरक्षा अवस्था अनुगमन तथा योजना बनाउनका लागि तीन एसएसपीलाई खटाइएको हो।
प्रदेश प्रहरी कार्यालयका एसएसपी कमल थापा, प्रदेश तालिम केन्द्र राजविराजका भीमबहादुर दाहाल र संघीय प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसएसपी शान्तिराज कोइरालालाई ८ वटा जिल्लाको निरीक्षण गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको हो।
सिरहा र सप्तरीमा भीमबहादुर दाहाल, बारा, पर्सा र रौतहटमा शान्तिराज कोइराला, धनुषा, महोत्तरी र सर्लाहीमा कमल थापालाई खटाइएको हो।
मधेशका ८ वटै जिल्लामा एसपीले सुरक्षा कमान्ड गर्छन्। चार वटा जिल्लामा भने बढी सुरक्षा चुनौती रहेको आकलन छ। मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार सिरहा, सर्लाही, रौतहट र पर्सालाई बढी सुरक्षा चुनौती रहेका जिल्लाका रूपमा लिइएको छ।
सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगन थापा चुनावी प्रतिस्पर्धामा छन्। उनको प्रतिस्पर्धा कांग्रेसकै पूर्वसांसद अमेरश सिंहसहितसँग हुँदैछ। गगन जाँदा त्यहाँ सुरक्षा चुनौती बढेको हो। अघिल्लो चुनावमा टिकट नपाएपछि अमरेशले कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। तर यसपटक उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्।
रौतहटमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चुनावी मैदानमा छन्। दल परिवर्तनका कारण पनि त्यहाँ चुनौती थपिएको सुरक्षा विश्लेषण छ। पर्सामा दल परिवर्तनसँगै पछिल्ला धार्मिक हिंसाले चुनौती थपिएको सुरक्षा अधिकारीहरूको बुझाइ छ।
यी चुनौतीपूर्ण जिल्लाहरूमा थप निगरानी बढाउने र परिस्थिति अनुसार तत्काल मुभ हुन र समन्वय गर्नका लागि एसएसपी खटाइएको डीआईजी थपलियाले बताए।
प्रहरी प्रधान कार्यालयले भने चुनौतीपूर्ण मानिएका जिल्लामा आवश्यक परे एसएसपीकै कमान्डमा टोली परिचालन गर्नेसम्मको तयारी गरेको छ।




































