काठमाडौं । त्रिवि शिक्षण अस्पतालले रास्वपा सभापति रवि लामिछानेको स्वस्थ्य सुधारोन्मुख रहेको जानकारी दिएको छ । खुट्टाको चोट निको नभएपछि लामिछाने मंगलबार साँझ शिक्षण अस्पताल भर्ना भएका थिए ।
‘लामिछानेज्यूलाई यहि २०८२ माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले २०८२/१०/१३ गते यस अस्पतालमा हाडजोर्नी विभाग अन्तर्गत भर्ना हुनुभएको र नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ । उहाँको अवस्था अहिले सामान्य रहेको कुरा जानकारी गराउँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, अस्पतालले भनेको छ ।
साथै लामिछाने उपचारका लागि भर्ना भएको सम्बन्धी सामाजिक सञ्जालमा आइरहेको तस्वीर नक्कली रहेको पनि अस्पतालले स्पष्ट पारेको छ । ‘सामाजिक सञ्जालमा भेटिएका फोटोहरू यस अस्पतालको नरहेको जानकारी गराउँदछौँ’, सूचनामा उल्लेख छ ।




































