काठमाडौं । ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिनै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ । तीन नेताबीच शक्ति बाँडफाँडमा सहमति नहुँदा घिसिङ यो एकता प्रक्रियाबाट बाहिरिएका छन्।
रातभरको छलफलपछि आइतबार बिहान रवि र बालेनले मात्रै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर सार्वजनिक गरेका छन्।
दुई पक्षबीच एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति लामिछाने नै रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने समझदारी भएको छ। यसले रवि, बालेन र कुलमानको एउटै शक्ति बनाउने प्रयास असफल भएको छ।
तीन नेताबीच वृहत एकताको लागि गएराति बालुवाटारको एक घरमा लामो छलफल चलेको थियो। घिसिङ र बालेन शाहबीच छलफल चलिरहेको ठाउँमा रास्वपा सभापति रवि लामिछाने प्रवेश गरेपछि तीन नेताबीच शक्ति बाँडफाँडमा कुराकानी चलेको थियो।
तर, छलफलमा पार्टीको नाम, चुनाव चिह्न, सभापति सबै रास्वपाबाट हुने, बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएपछि घिसिङ यो एकता प्रक्रियामा सहमत नभएका स्रोतले जनाएको छ।
पुस ४ गते जेलबाट रिहा भएलगत्तै लामिछानेले २१ फागुनको चुनावअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै काठमाडौँ महानगरका प्रमुख बालेनसँग एकताका लागि छलफल सुरु गरेका थिए।
पुस ७ गते विघटित प्रतिनिधि सभामा रास्वपाका सांसद असीम शाहको कमलपोखरीमा रहेको घरमा रवि र बालेनबीच करिब ६ घण्टा छलफल भएको थियो। यो छलफलमा रविले बालेनलाई साधारण सदस्य भएर रास्वपा प्रवेशको प्रस्ताव राख्दै चुनाव जितेपछि सबै कुरा मिलाएर जाने आश्वासन दिए।
वैकल्पिक शक्ति निर्माण गर्ने भनेर भएको यही भेटवार्तामा बालेनले भने शक्ति बाँटफाँटको विषय उठाउँदै रवि पार्टी सभापति रहने भए प्रधानमन्त्रीको उम्मेदवार आफूलाई बनाउन प्रस्ताव गरेका थिए।
तर रविले शक्ति बाँडफाँटको प्रस्तावमा स्पष्ट जवाफ नदिएपछि बालेनले मिल्न नसकिने निष्कर्ष निकाल्दै पुस ८ गतेदेखि आफ्नै देश विकास पार्टी अगाडि बढाउने कसरत थाले। त्यसै क्रममा बालेनले राजनीतिक–सामाजिक अगुवादेखि नीजि क्षेत्र र जेनजी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे।
बालेनले आफ्नै पार्टी अगाडि बढाउन खोजेको चाल पाएपछि रविले फेरि उनीसँग छलफल अगाडि बढाए। १० पुसमा रवि र बालेनबीच फेरि लामो छलफल भयो, जसमा रवि बालेनलाई आफूपछिको वरीयतामा राखेर प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भए। त्यसपछि बलेनका दुई जना र रविका दुई जना रहेको कार्यदलले एकता सम्झौताको दस्तावेज तयार पार्न थाल्यो। तर रविले बालेन र कुलमानलाई मिलाएर एउटै शक्ति बनाउने भने पनि जेलबाट छुटेपछि कुलमानसँग भेट गरेका थिएनन्।
रविले बालेनसँग मात्रै छलफल गरेको, एकताको गृहकार्य गर्न बनाएको कार्यदलमा आफ्ना मान्छे नराखेको र शक्ति बाँडफाँट गर्न पनि तयार नभएपछि कुलमानले शनिबार आफ्नो अस्तित्व गुमाएर रास्वपामा बिलय हुन नजाने निर्णय गरे।
अर्कोतिर कुलमानलाई मनाउने बालेनको प्रयास भने जारी थियो। शनिबार बिहानै कुलमानलाई भेटेका बालेनले साँझ फेरि वार्ता गरे।
दिउँसो आफ्नो अस्तित्व गुमाएर रास्वपा र बालेनसँग नमिल्ने उनेपाको निर्णय आएपछि रवि फेरि सक्रिय भएका थिए। साँझ बालेन र कुलमान छलफल भइरहेको बालुवाटारस्थित घरमा रविको पनि प्रवेश भयो। तर निर्णायक भनिएको त्यो छलफलमा पनि सहमति हुन सकेन।
रवि, बालेन र कुलमानबीच त्रिपक्षीय छलफल भएको यो नै पहिलो पटक थियो। तर, त्यो छलफलमा तीन नेताबीच शक्ति बाँडफाँडमा सहमति नहुँदा कुलमान यो एकता प्रक्रियामा सहभागी भएनन्।
छलफलमा कुलमानले पार्टीको नाम र चुनाव चिह्न आफ्नो दलको स्वीकारे अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफूलाई नचाहिने बताएका थिए।

































