बागलुङ । नेपाली कम्युनिष्ट पार्टीका नेता कमल घिमिरेले माधव र प्रचण्डको भूमिकाले संविधान जोगिएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी बागलुङको बैठकलाई सम्बोधन गर्दै उनले देश संकटमा परेको बेला माधव-प्रचण्डको भूमिकाले संविधान बचेको बताएका हुन् ।
‘जेनजी आन्दोलनपछि बाह्य शक्तिको हस्तक्षप शुरु भएको थियो,’ नेता घिमिरेले भने, ‘माधव र प्रचण्डको चलाखीले हजारौंको बलिदानीबाट प्राप्त संविधान बच्यो ।’ दुवै नेताको भूमिकाबाट पश्चिमा देशहरुसँगकाे सम्बनध सन्तुलित भएको दाबी गर्दै उनले एकतापछि जनतामा सकरात्मक सन्देश गएको बताए ।
‘नेकपा एमालेभित्रको अन्तरविरोध बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘केही समयमा बागलुङबाट ठूलो संख्यामा नेपाली कम्युनिष्ट पार्टीमा नेताहरु समाहित हुँदैछन् ।’
कार्यक्रममा केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाले नेकपाले जेनजीहरुले उठाउँदै आएको मुद्धाको पक्षमै रहेको बताउँदै हाल एकता भएका दलहरुले पहिलेबाट हाल जेनजीले उठाएका मुद्दा उठाएको बताए । नेकपा बागलुङका सह–संयोजक पिंगलराज गौतमले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा आफू र संयोजक घर्ती सक्रिय नेतृत्वमा रहेको बताउँदै मंसिर महिनाभित्रै एकता सम्मेलन गर्ने बताए । त्यस्तै, केन्द्रीय सदस्य कमल घिमिरेले पनि एकता प्रक्रियालाई दृढतापूर्वक अघि बढाउनुपर्नेमा जोड दिए ।




































