राम प्रसाद घिमिरे, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-५, दाँगमा आगलागीका कारण एक जना घाइते भएका छन् भने लाखौंको क्षति भएको छ । बडिगाड गाउँपालिका-७ टुनिबोट घर भइ दाँग डाँडखर्कका देबिराम घिमिरेको घरमा अदिया गरी बस्ने चन्दन घर्तीको घरमा आज बिहान आगलागी भएको हो ।
आगो निभाउने क्रममा घर्ती घाइते भएको प्रहरीले जनाएको छ । घाइते घर्तीलाई उपचारका लागि गलकोट नगर अस्पतालमा पठाइएको छ । घर्तीको दुई तले गोठमा आइतबार बिहान अन्दाजी ४ः३० बजेको समयमा पानी तताउने क्रममा एक्कासी आगलागी भएको स्थानीयले बताएका छन् ।
आगलागीबाट ५ वटा बोका ४ वटा बाख्रा आगोमा परी जलेका छन् भने २ वटा भैंसी घाइते भएका छन् । आगलागीका कारण ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।



































