काठमाडौं । लोकेश बम र मार्टिन गप्टिलको उत्कृष्ट ब्याटिङप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध कीर्तिमानी २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । यो एनपीएलमा बनेको सबैभन्दा ठूलो योगफल हो । एनपीएल इतिहासमै पहिलो पटक २०० रन कटाउने टिम बनेको विराटनगरले यसअघि लुम्बिनी लायन्सको नाममा रहेको कीर्तिमान तोडेको हो ।
यसअघि लुम्बिनीले विराटनगरविरुद्ध नै गत सिजन १९१ रन बनाउँदै पहिलो इनिङमा सबैभन्दा ठूलो योगफलको कीर्तिमान बनाएको थियो । तर, दोस्रो इनिङमा १९३ रन बनाउँदै विराटनगरले उक्त खेलमा दुई विकेटको जित निकालेको थियो ।
मंगलबार लिगअन्तर्गत त्रिवि क्रिकेट मैदानमा गप्टिल र लोकेशले अर्धशतकीय इनिङ खेलेपछि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनायो ।
विराटनगरबाट ओपनर लोकेशले सर्वाधिक ७२ रन बनाए । उनले ४८ बलमा एक चौका र सात छक्का प्रहार गरे । यस्तै, न्युजिल्यान्ड पूर्वब्याटर गप्टिलले ३५ बलमा तीन चौका र पाँच छक्कासहित ६१ रन थपे ।
यी दुईले १४–१ को स्थितिबाट दोस्रो विकेटका लागि १३२ रनको शतकीय साझेदारी गर्दै विराटनलाई विशाल योगफलतर्फ डोहोर्याएका थिए । यो एनपीएल इतिहासमा दोस्रो विकेटका लागि बनेको अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी हो ।
यसअघि गत सिजन सुदूरपश्चिमका विनोद भण्डारी र ब्रान्डन म्याकमुलमले दोस्रो विकेटका निम्ति ८६ रनको साझेदारी गरेका थिए । यस्तै, समग्रमा भने यो एनपीएलको दोस्रो ठूलो साझेदारी हो । लोकेश र गप्टिलभन्दा अघि रहेका पोखराका आन्द्रियस गौस र दीनेश खरेलले यसअघि गत सिजन सबैभन्दा ठूलो साझेदारी गरेका थिए । त्यसबेला गौस र दीनेशले लुम्बिनीविरुद्ध १७६ रनको अविजित साझेदारी गरेका थिए ।
अन्तिममा विस्फोटक फिनिसिङ गरेका सुभव रन्जानेले १६ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए । बसिर अहमेदले १३ बलमा एक चौका र छक्कासहित २३ रन थपे । अविजित रहेका नारायण जोशीले तीन बलमा एक चौका र एक छक्कासहित ११ रन बनाए ।
विराटनगरविरुद्ध फितलो बनेको बलिङतर्फ पोखराका म्याट टेलरले दुई विकेट लिए । आकाश चन्द, सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान एक विकेट लिए ।







































